सूचनाको शक्ति - The Power Of Information

        

पोर्चुगल र पोल्याण्ड विश्वकप फुटबलका लागि छनौट

पोर्चुगल र पोल्याण्ड कतारमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् ।

मंगलबार राति भएको युरोपेली समुहको प्ले अफ् खेलमा स्विडेनलाई २–० ले हराउँदै पोल्याण्ड विश्वकपमा छानिएको हो ।

पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्की र पिएटर जेलेन्स्कीले एक एक गोल गरे ।

युरोपेली समुहकै अर्को प्ले अफ् खेलमा नर्थ मेसेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल पनि विश्वकपमा छानिएको हो ।

पोर्चुगलको जितमा दुबै गोल ब्रुनो फर्नान्डेजले गरे । अघिल्लो खेलमा इटालीलाई हराएर सनसनी मच्चाएको नर्थ मेसेडोनियाले पोर्चुगल विरुद्धको खेलमा भने चमत्कारिक प्रदर्शन गर्न सकेन ।

उता, अफ्रिकी समुहबाट सेनेगल, घाना, क्यामरुन, मोरक्को र ट्युनिसिया विश्वकपका लागि छानिएका छन् । मंगलबार राति भएको खेलमा इजिप्टलाई पेनाल्टी सुट आउटमा हराउँदै सेनेगल विश्वकपमा छानिएको हो । सेनेगलको लागि सादियो मानेले निर्णायक पेनाल्टीमा गोल गर्दा इजिप्टका मोहोमद सालाह चुकेका थिए ।

अफ्रिकी समुहका अन्य खेलहमा घानाले नाइजेरियालाई हराएको हो भने क्यामरुनले अल्जेरियालाई, मोरक्कोले प्रजातान्त्रिक गणतन्त्र कंगोलाई तथा ट्युनिसियाले मालीलाई पराजित गरेको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार ०९:२७