सूचनाको शक्ति - The Power Of Information

        

खुला दोहोरी गीत आजदेखि

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा १६–१९ चैतसम्म भृकुटीमण्डपमा छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ सिल्ड खुला राष्ट्रिय दोहोरी प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा देशभरिबाट ७० समूह सहभागी हुनेछन् । दोहोरी गीतमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । प्रतियोगिताभरि राष्ट्रिय कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन् ।

प्रतियोगितामा पहिलो हुनेले दुई लाख २५ हजार रुपैयाँ पाउनेछन् । उपविजेताले एक लाख ५० हजार र तेस्रो स्थान हासिल गर्नेले एक लाख रुपैयाँ पाउनेछन् ।

यसैगरी चौथो स्थानमा रहनेलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट दुई पुरुष र महिलालाई दश हजार रुपैयाँ दिइनेछ । उत्कृष्ट वेशभूषा र अनुशासित समूहलाई जनही १० हजार रुपैयाँ दिइनेछ ।

गोरखा ब्रुअरीको मार्केटिङ डाइरेक्टर आशिष विष्टले टुबोर्ग नेपालमा विभिन्न सांगीतिक कार्यक्रमसँग आबद्ध हुँदै आफ्नो छुट्टै पहिचान बनाएको बताएका छन् । १८ वर्षअघि टुबोर्ग दोहोरी प्रतियोगितासँग आबद्ध भएको थियो ।

संगीतको क्षेत्रमा दोहोरी, संगीत मात्र नभई नेपालीहरूको संस्कृति र पहिचान भएको विष्टले बताएका छन् । टुबोर्गले यस प्रतियोगितासँग आबद्ध भएर संस्कृतिको जगेर्ना गर्ने हरेक गायक–गायिकालाई प्रोत्साहन र हौसला प्रदान गर्ने उनले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार ०८:००