सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन–२०७९

बाँकेमा ३ लाख २९ हजार ४७३ मतदाता, उपमहानगरमा धेरै, नरैनापुरमा थोरै

जिल्लाभरी १३६ मतदान स्थल र ३७९ मतदान केन्द्र कायम

बाँकेमा तीन लाख २९ हजार ४७३ मतदाता रहेका छन् । निर्वाचन कार्यालय बाँकेका अनुसार १ लाख ६७ हजार ३४९ पुरुष, १ लाख ६२ हजार ११७ महिला र ७ अन्य रहेका छन् ।

बाँकेमा सबैभन्दा धेरै मतदाता नेपालगन्ज उपमहानगरपालिकामा ८१ हजार ७९४ रहेको निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये ४३ हजार १११ पुरुष, ३८ हजार ६७९ महिला र ४ अन्य रहेका छन् ।

कोहलपुर नगरपालिकामा ५६ हजार ७९७ मतदातामध्ये २६ हजार ८१४ पुरुष, २९ हजार ९८२ र १ अन्य रहेका छन् भने बैजनाथ गाउँपालिकामा ४५ हजार १२३ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

बैजनाथमा २१ हजार १७१ पुरुष र २३ हजार ९५२ महिला मतदाता छन् भने राप्तीसोनारीमा २२ हजार ६५ पुरुष, २२ हजार ७४६ महिला र १ अन्य गरी ४४ हजार ८१२ मतदाता रहेका छन् ।

निर्वाचन कार्यालयका अनुसार खजुरा गाउँपालिकामा १८ हजार ७६ पुरुष, १९ हजार १८७ महिला र १ अन्य गरी ३७ हजार २६४ मतदाता छन् भने जानकी गाउँपालिकामा १२ हजार ५५२ पुरुष र १० हजार २७७ महिला गरी २२ हजार ८२९ मतदाता छन् ।

२२ हजार २५५ मतदाता रहेको डुडुवा गाउँपालिकामा १२ हजार ६४० पुरुष र ९ हजार ६१५ महिला छन् भने १८ हजार ५९९ मतदाता रहेको नरैनापुर गाउँपालिकामा १० हजार ९२० पुरुष र ७ हजार ६७९ महिला छन् ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिकामा ३४ मतदान स्थल र ९४ मतदान केन्द्र कायम गरिएको छ भने कोहलपुर नगरपालिकामा १६ मतदान स्थल र ६२ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार बैजनाथमा १६ मतदान स्थल र ५२ मतदान केन्द्र, राप्तीसोनारीमा १८ मतदान स्थल र ५१ मतदान केन्द्र, खजुरामा १६ मतदान स्थल र ४३ मतदान केन्द्र कायम गरिएको छ ।

जानकीमा १२ मतदान स्थल र २७ मतदान केन्द्र, डुडुवामा १२ मतदान स्थल र २६ मतदान केन्द्र र नरैनापुर गाउँपालिकामा १२ मतदान स्थल र २४ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

एक उपमहानगरपालिका, एक नगरपालिका र छ वटा गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेको बाँके जिल्लाभरी १३६ मतदान स्थल र ३७९ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार २१:३८