सूचनाको शक्ति - The Power Of Information

        

सर्वोच्चको न्यायाधीशमा तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले न्याय परिषदबाट प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

योग्य, क्षमतावान र अनुभवी रहेको कुरा सुनवाइको क्रममा पुष्टि भएपछि उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै श्रेष्ठले सर्वोच्च अदालतमा जनताले ढुंगा हान्ने अवस्था आउन नदिने गरी आफूले काम गर्ने बताउनुभयो । उहाँले न्याय सेवालाई छिटो, छरितो र पारदर्शी बनाउन आफू केन्द्रित हुने प्रतिबद्धता पनि जनाउनुभयो ।

श्रेष्ठविरुद्ध उजुरी गर्न संसदीय समितिले जारी गरेको १५ दिनको समयमा उहाँविरुद्ध कुनै पनि उजुरी परेको थिएन । समितिबाट अनुमोदन भएसँगै अब राष्ट्रपतिले श्रेष्ठलाई नियुक्त गर्नुहुनेछ ।

गत फागुन २७ गते बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि उहाँको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १७:४१