सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा पहिलोपटक मौलिक भोजनको मेला

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती पर्यटकीय क्षेत्रमा पहिलो पटक मौलिक (रैथाने) भोजनको मेला सकिएको छ ।

गाभर भ्याली होमस्टे एशोसिशनको राष्ट्रिय सम्मेलन तथा विभिन्न जातजातीको मौलिक खानाका परिकार तथा घरमा निर्मित सामग्रीको किनमेल मेला चैत ११ गतेदेखि १३ गतेसम्म भएको थियो ।

मेलामा लुम्बिनी प्रदेशका विभिन्न जातजातीमा प्रचलित खाना, सामाग्री तथा विभिन्न जातजातीको सांस्कृतिक नाचगान समेत भएको थियो । त्यस्तै, मेलामा ६८ जिल्लाका १ हजार भन्दा बढी होमस्टे सञ्चालकहरूको सहभागिता रहेको थियो ।

मौलिक भोजनमा लुम्बिनी क्षेत्र सहित ६८ जिल्लामा बासोबास गर्ने थारू, मगर, राई, लिम्बु मधेशी तथा अन्य जातजातीहरूले आफूले उत्पादन गरेको बस्तु आफैँले घरमै उत्पादन गरेर मेलामा प्रदर्शन गरिएको र बिक्रि वितरण भएको मौलिक भोजन मेला समितिका संयोजक कृष्णलाल चौधरीले बताउनुभयो ।

होमस्टे एशोसिएशनका विदेश विभाग सदस्य पूर्णचन्द्र उपाध्यायले घरेलु मौलिक उत्पादन जोगाउन कै लागि दुई दिने मेला आयोजना गरेको बताउनुभयो ।

मौलिक खानाको स्वादसँगै महोत्सव अवलोकन गर्न आएका पाहुनालाई विभिन्न जातजातीमा प्रचलित नाच अवलोकन गर्ने व्यवस्था गरिएको थियो ।

समुदायमा प्रचलित सख्या, झुम्रा, छोक्रा, पैँया, लट्ठा, मयूर नाच प्रदर्शन गरिएको थियो । हिमाली तथा पहाडी भेगमा प्रचलित कुर्कुटी, सल्यानी टप्पा, झ्याउरे लगायतका नाच महोत्सवमा हेर्ने व्यवस्था मिलाइएको थियो ।

आधुनिकतासँगै लोप हुँदै गएका संस्कार र संस्कृति जगेर्ना गर्न लुम्बिनी र हिमाली भेगमा प्रचलित तथा लोपोन्मुख नाचगानकोे संरक्षण गर्न आवश्यक दखिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार ०८:४८