सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख मतदाता सहभागी हुने

आगामी बैशाख ३० सम्पन्न हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले भाग लिने भएका छन् ।

निर्वाचन आयोग, नेपालले सोमबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा भाग लिने सो संख्यामा रहेका मतदाताहरूको नामावली स्वीकृत गरिएको जानकारी गराएको हो ।

जस अनुसार ८७ लाख ४१ हजार ५३० महिला मतदाता, ८९ लाख ९२ हजार १० पुरुष मतदाता र र १८३ अन्य मतदाताहरू रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको पनि आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६७६ जना निर्वाचन अधिकृतहरू तोकिएको र उनीहरूको नामावली चैत्र १३ गतेको गोरखापत्रका प्रकाशित गरिएको पनि बताउनुभयो ।

निर्वाचन आयोगले स्थानीय तह निर्र्वाचनको पर्यवेक्षणका लागि भाग लिन संस्थाहरूलाई निवेदन पेश गर्न पनि आह्वान गरेको छ ।

विगतको अभ्यास र अन्तराष्ट्रिय प्रचलन समेतको आधारमा राष्ट्रिय संस्थाहरूलाई मात्रै निर्वाचनको पर्यवेक्षण गर्न अनुमति दिइने पनि आयोगका प्रवक्ता पौडेलले स्पष्ट पार्नुभयो ।

त्यसका लागि ईच्छुक संस्थाहरूले १५ दिन भित्र विद्युतीय माध्यामबाट निवेदन दिन सक्ने व्यवस्था मिलाइएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यसैबीच, निर्वाचन आयोग, नेपालले मत पत्र छपाईका लागि मेसिनलगायतका सामग्रीहरू तयारी हालतमा राख्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ ।

त्यसैगरी आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि यही चैत्र १५ गतेबाट कल सेन्टर संचालनमा ल्याउन लागिएको पनि जनाएको छ ।

प्रवक्ता पौडेलले त्यसका लागि आवश्यक जनशक्तिहरूलाई आज (सोमबार) नै अभिमुखिकरण तालिम दिइएको बताउनुभयो । निर्वाचन आयोगले कल सेन्टर संचालनका लागि ११०२ टोल फ्रि नम्बरको व्यवस्था गरिसकेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १८:००