सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन–२०७९

देशभर तोकिए १०,७५६ मतदान स्थल, २१,९५५ मतदान केन्द्र (सूचीसहित)

३२ लाख १९ हजार ४५७ मतदाता रहेको लुम्बिनीमा १ हजार ६२९ मतदान स्थल तोकिएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभर १० हजार ७५६ वटा मतदान स्थल निर्धारण गरिएको छ भने तिनमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन आयोगका अनुसार आइतबार बसेको आयोगको बैठकले स्थानीय तहको निर्वाचनका लागि मतदाताको संख्या, मतदान स्थल र मतदान केन्द्रको टुंगो लगाएको हो । आयोगले सार्वजनिक गरेको सूचीअनुसार मधेस प्रदेशमा सबैभन्दा बढी मतदानस्थल २ हजार १६३ वटा र ४ हजार १८९ वटा मतदान केन्द्र तोकिएका छन् ।

मधेस प्रदेशका ८ जिल्लामा गरी मतदाताको संख्या ३३ लाख ३१ हजार १७० रहेको आयोगले जनाएको छ । प्रदेश १ मा १ हजार ८७७ मतदान स्थल तथा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरिएको छ । जहाँ ३३ लाख ४७ हजार ३८४ जना मतदाता छन् ।

बागमती प्रदेशमा १ हजार ७९२ मतदान स्थल तथा ४ हजार ९५ मतदान केन्द्र राखिएका छन्, जुन प्रदेशमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८६९ जना मतदाता छन् । आयोगका अनुसार गण्डकी प्रदेशमा १ हजार २५३ मतदान स्थल छन्, उक्त प्रदेशमा १७ लाख ८९ हजार ४११ मतदाता छन् ।

यसैगरी ३२ लाख १९ हजार ४५७ मतदाता रहेको लुम्बिनीमा १ हजार ६२९ मतदान स्थल तोकिएको छ । १० लाख १ हजार २८२ मतदाता रहेको कर्णालीमा ९०७ मतदान स्थल निर्धारण गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा १ हजार १३५ मतदान स्थल तय गरिएको छ । जहाँ १६ लाख ३२ हजार १५० मतदाता रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

हेर्नुहोस् मतदान स्थल, मतदान केन्द्र र मतदाताको विवरण :

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार ०९:५१