बाँकेको नरैनापुर साक्षर गाउँपालिका घोषणा हुँदैछ । आज विशेष कार्यक्रमको आयोजना गरेर नरैनापुरलाई साक्षर गाउँपालिका घोषणा गर्न लागिएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए ।
बाँकेमा स्थानीय तहहरुमा नरैनापुर आज साक्षर घोषणा गर्ने छैटौं स्थानीय तह हो । बाँकेका आठ वटा स्थानीय तहमध्ये पाँच वटा यसअघि साक्षर घोषणा भैसकेका छन् । कोहलपुर, खजुरा, जानकी, राप्तीसोनारी, बैजनाथ गाउँपालिका साक्षर घोषणा भैसकेका छन् ।
फाइल तस्वीर
नरैनापुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले नरैनापुरलाई साक्षर गाउँपालिका घोषणाको तयारी पुरा भएको जानकारी दिए । गाउँपालिकालाई साक्षर बनाउन लागि गाउँपालिकाले ६ वटै वडामा विशेष साक्षर कक्षा सञ्चालन गरेको थियो ।
नरैनापुरमा ९ हजार ५१८ जना निरक्षरका लागि साक्षरता कक्षा सञ्चालन गरिएको उनले बताए । गत पुसमै साक्षर गाउँपालिका घोषणा गर्ने तयारी भए पनि प्राविधिक कारणले केही ढिलाइ भएको शिक्षा शाखा प्रमुख थारुले जानकारी दिए ।
साक्षर घोषणा गर्ने स्थानीय तहलाई सरकारले पुरस्कृतसमेत गर्दै आएको छ । साक्षर गाउँपालिका घोषणा गर्न १५ देखि ६० वर्ष उमेरका ९० प्रतिशत मानिस साक्षर हुनुपर्छ । बाँकेमा नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका मात्रै साक्षर घोषणा हुन बाँकी रहेका छन् ।
सत्यपाटी । बाँके ।