सूचनाको शक्ति - The Power Of Information

        

त्रिकोणात्मक सिरिज : पीएनजीसँग खेल्दै नेपाल

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ ।

 नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ : ३० मा सुरु हुनेछ ।

पीएनजीसँगको एकदिवसीय सिरिज गुमाएको नेपाल टी–ट्वान्टी सिरिजमा भने आफूलाई बलियो सावित गर्ने योजनामा छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपाललाई घरेलु मैदानमा सिरिज जित्ने मौका छ ।

तर, एकदिवसीय क्रिकेटमा पीएनजीसँग दुई खेलमा पराजित भएको नेपाललाई भने आजको खेलमा डर छ । नेपाल पीएनजीसँग पहिलो खेलमा ६ रन र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी–ट्वान्टी सिरिजमा त्यसको बदला लिने लक्ष्यमा छ । यसअघि नेपाल र पीएनजी एक पटक टी–ट्वान्टी अन्तर्राष्ट्रिय आमनेसामने भएका छन् ।

सन् २०१५ मा नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो । ७ वर्षअघि भएको खेलमा नेपाल पीएनजीसँग ८ विकेटले पराजित भएको थियो ।

पीएनजीले पछिल्लो ६ टी–ट्वान्टी खेलमा जित निकाल्न सकेको छैन । नेपाल भने पछिल्लो ५ खेलमा ४ जित निकाल्दा १ खेलमा मात्र पराजित भएको छ ।

नेपालले त्रिवि क्रिकेट मैदानमा ८ टी–ट्वान्टी खेल खेल्दा ७ खेलमा जित निकालेको छ । त्यसैले नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने योजनमा छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार ०८:०१