सूचनाको शक्ति - The Power Of Information

        

बझाङका १२ वटै स्थानियतहका तोकियो निर्वाचन अधिकृत

निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटाउने प्रयोजनका लागि छनोट भएका निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ ।

बझाङ जिल्लाका १० वटा गाउँपालिका र २ वटा नगरपालिकाका समेत निर्वाचन अधिकृतको नाम सार्वजनिक गरिएको छ ।

जसमा साइपाल गाउँपालिकामा दिपक राज कलौनी, केदारस्युँ केशव प्रसाद गौतम, खप्तडछान्ना विसाल सापकोटा, छविसपाथिभेरा इश्वरी प्रसाद ज्ञवाली, तलकोटमा रामकृष्ण अधिकारी, थलारामा मंगल बहादुर शाही, दुर्गाथली यदुराम शर्मा, मष्टा नेत्र प्रसाद घिमिरे, वित्थडचिर हरि पंगेनी, सुर्मा गाउँपालिकामा सागर प्रसाद फुयाल, बुंगल नगरपालिकामा मनोज बराल र जयपृथ्वी नगरपालिकामा जिल्ला न्यायाधीस विष्नु प्रसाद अवस्थीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिने भएको छ ।

निर्वाचन अधिकृत भन्नाले निर्वाचनको कामका लागि आयोगले नियुक्ति गरेको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत समेतलाई जनाउँछ ।

स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने व्यवस्था छ ।

स्थानीय तह निर्वाचनका हकमा न्यायाधीश र न्याय सेवाका राजपत्राङ्कित अधिकृतलाई मात्र नियुक्ति गर्न नसकिएमा निजामती सेवाभित्रका अन्य सेवाका अधिकृतलाई समेत निर्वाचन अधिकृतमा खटाउन सकिने छ ।

निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार ०७:२१