सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताउनुभएको छ ।
आइतबार १० औँ गैर आवासिय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा अबको आठ, दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताउनुभएको हो । उहाँले नेपालको कृषि बजारमुखि हुने र मानिसहरुलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको स्पष्ट पार्नुभयो ।
आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने भन्दै महामन्त्री थापाले बाह्य लगानी भित्र्याउनुपर्ने बताउनुभयो । पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि विकास हुनुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले भन्नुभयो – ‘हाम्रो कृषि बजारमुखि हुने, हाम्रो मानिसहरुलाई एक्सपोर्ट गरेर बाहिर पठाउने, सामान इम्पोर्ट ल्याएर चलाउने । यो धन्दा मात्रै चलाइ राखेर हामीले जति कुरा गरे पनि हाम्रो अर्थतन्त्रको चरित्र जस्ताको तस्तै राखेर हाम्रो देशको अवस्था बदलिनेवाला छैन ।
यसलाई बदल्ने कुरा हो । यसलाई बदल्ने कुराको सन्दर्भमा एउटा डिर्पाचर हामीलाई चाहिएको छ । कृषिको क्षेत्र उद्योगमा नगएर सेवामा गएको छ । अब ८/१० वर्ष ठुलो लगानी हामीलाई पूर्वाधारमा चाहिएको छ ।
कनेक्टिभिटी हाम्रो लागि एकदमै ठुलो, महत्वपूर्ण च्यालेन्ज हो । हामीसँग भएको स्रोत, आन्तरिक स्रोत सम्पूर्ण रुपमा परिचालन गर्दाखेरी पनि बाहिरको स्रोत नल्याइकन, बाहिरबाट स्रोत परिचालन नगरीकन हाम्रो पूर्वाधारलाई हामीसँग अहिले स्रोतको अभाव छ । त्यो हामीलाई चाहिएको छ ।
हामी यो ग्राण्डबाट ल्याउँला, लोनबाट ल्याउँला, डाइरेक्ट इन्भेष्टमेन्टबाट ल्याउँला एउटा पार्ट यो भयो । त्यसपछि हामीले यहाँको इजुकेशन र हेल्थ दुईवटा कुरा ।
हाम्रो हुमन डेभलपमेन्टको जुन अवस्था छ यो अवस्था नबदलीकन, पूर्वाधारले मात्र हामीलाई पुदैन ।’ महामन्त्री थापाले गैरआवासिय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने बताउनुभयो ।
गैर आवासिय नेपालीहरुको लगानीसँग नेपालीहरु डराउनु नहुने उहाँले बताउनुभयो । उनीहरुलाई नेपालमा लगानी गर्न दिनका लागि नेपालका नेतृत्वले आत्मविश्वास देखाउनुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले नेपालीले गैरआवासिय नेपालीहरुको लगानीलाई आशंकाको दृष्टिले हेर्नु नहुने बताउनुभयो ।
सत्यपाटी । काठमाडौँ ।