सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

भेरी अस्पतालमा आइसीयू सेवा विस्तार, न्युरो सेवा फेरि सुरु

पश्चिम नेपालको तीनवटा प्रदेशका बिरामीले उपचार पाउँदै आएको नेपालगन्जस्थित भेरी अस्पतालको आइसीयू कक्षमा नौवटा अत्याधुनिक बेड (शैय्या) थप गरेर सेवा विस्तार गरिएको छ ।

कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट गम्भीर अवस्थाका धेरै बिरामी भेरी अस्पतालमा रिफर भएर आउने गरेकाले आइसीयू कक्षमा बेडको अभाव हुने गरेकाले आइसीयू कक्षलाई १५ बेडमा विस्तार गरिएको भेरी अस्पतालका प्रमुख डा.वीरेन्द्रबहादुर चन्दले बताए ।

उनले आइसीयूमा ६ वटा मात्रै बेड रहेकाले धेरै बिरामीलाई अन्यत्र पठाउनु परेकोमा अब नौवटा बेड थप गरेर १५ वटा बेड बनाइएकाले धेरै जनाले न्यून शुल्कमा आपत्कालीन उपचार पाउने बताए ।

भेरी अस्पतालको आइसीयू कक्षमा बेडको अभावले निकै समस्या भएपछि अत्याधुनिक सेवासुविधासहित बेड थप गरिएको जनाउँदै यसले विपन्न र गरिब बिरामीलाई उपचारमा सहज हुने अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

उनले कोभिड महामारीमा अब्बल साबित भएको सो अस्पतालमा विभिन्न विभाग र सेवासुविधा थप गर्ने कार्य निरन्तर जारी रहेको र अस्पताललाई यस क्षेत्रकै सबैभन्दा राम्रो बनाउने अभियानमा लागेको बताए ।

न्युरो सेवा फेरि सुरु

न्युरोसम्बन्धी चिकित्सक नहुँदा एक वर्षदेखि बन्द रहेको न्युरो सेवालाई पनि भेरी अस्पतालमा पुनः सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डा.चन्दले बताए । उनले यसबाट पश्चिम नेपालका न्युरोसम्बन्धी समस्या भएका सयौँ बिरामीले प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गरे ।

वरिष्ठ न्युरोसर्जन डा.जोशन न्यौपानेलाई भेरी अस्पतालमा नियुक्त गरिएपछि अस्पतालमा न्युरो सेवा नियमित गरिएको हो । डा.न्यौपाने यसअघि नेपालगन्ज मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पतालका न्युरो विभाग प्रमुख रहेका थिए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतवार १०:२५