सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन–२०७९

अन्तिम मतदाता नामावली प्रकाशन आज, दुई लाख मतदाता थपिँदै

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्दैछ ।

मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न लागेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने जानकारी दिए ।

दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको अनुमान गरिएको छ । मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्नेछ ।

यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने छैन । फागुन १९ गतेदेखि एक साताको म्याद राखेर मतदाता नामावली अद्यावधिक (दाबी विरोध) गर्न र त्रुटि भए सच्याउन आयोगले आवेदन आह्वान गरेको थियो ।

नाम दोहोरिएको, मृत्यु भएका वा नागरिकता त्याग गरेका, झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन आह्वान गरिएकोमा आयोगले वडा, पालिका र निर्वाचन कार्यालयसँगको समन्वयमा मतदाताको अन्तिम नामावली तयार गरेको हो ।

२०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार ११० जना मतदाता कायम थियो । गत मङ्सिर र पुस महिनामा सञ्चालित मतदाता नामावली विशेष अभियानमा करिब १८ लाख जनाले नामावली दर्ता गराएका थिए ।

आयोगले माघ २४ गतेसम्म निर्वाचन कार्यालयमा दर्ता कायम १६ वर्ष उमेर पुुगेका नेपाली नागरिकमध्ये वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरिसकेको छ । २०७९ वैशाख ३० गते हुने मतदानको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार दिँदा करिब दुई लाख मतदाता थपिँदै छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतवार ०९:०२