सूचनाको शक्ति - The Power Of Information

        

साहित्य - कविता

‘अन्तरमनका द्वन्द्व’

कहिलेकाँही मानसपटलमा, कैयौं प्रश्नहरु उत्पन्न हुने गर्छन् ।
कुनै कुनै प्रश्नको समाधान फेरि आफ्नै हृदयमा पाउने गर्छु ।
तर पनि कतिपय प्रश्नको उत्तर भेटाउन सक्दिन ।
‘भाग्यमा भए पो मिल्छ सबै’ धेरैको मुखबाट सुन्ने गर्छु यो
अन्तर्मनदेखि प्रश्न उब्जिने गर्छ अनि सोच्ने गर्छु…।
सायद भावीले छैठीमा लेख्दा सोधेर सबै मानिसको भविष्य लेख्ने नियम भगवानले गराइदिएको भए है…।
सायद, उ बेला भावीसङ्ग मैले पनि केही प्रस्ताव राख्ने थिए होला ।
केही मेरा माग राख्ने थिए होला ।
आज म पनि आफुलाई कति भाग्यमानी ठान्थे होला ।
खुशीका पंख फिजाई यो आकाशमा उडान भर्थे होला ।
यदि यस्तो भइदिएको भए…
यो संसारका मानिसलाई दुःखसँग लड्न पर्ने थिएन होला ।
सबै मानिस सम्पन्न खुसी रहन्थे होला ।
यो पृथ्वी अझ सुन्दर देखिन्थ्यो होला ।
चारैतिर हरियाली महसुस हुन्थ्यो होला ।
अनि यो दुनियाँमा
एक अर्कासँग गरिने रिस, द्वेष, लोभ, लालच, द्वन्द इत्यादिको अन्त्य हुन्थ्यो होला ।
मायाको फुलबारीमा थरीथरी फुल मगमगाउँथे होला ।
स्वर्गको अनुभूति हरक्षण हुन्थ्यो होला ।
तर…
कसलाई भन्नु कसलाई पोख्नु मुटुको ब्यथा ?
अनि सोध्न मन लाग्छ भावीसँग किन किन ?
कहिलेकाँही गुनासो पोख्न मन लाग्छ मलाई,
निधारमा भविष्यको रेखा कोर्नेसँग, भाग्य लेख्नेसँग ।
उत्तर त पाउँदिन थाहा छ मलाई,
फेरि सोच्छु…
देख्नलाई आहा आहा छ, जिन्दगी तर
कस्तो न कस्तो खल्लो बेस्वादको छ जिन्दगी
यस्तै छ जिन्दगी, यस्तै छ जिन्दगी ।।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतवार ०८:४३