सूचनाको शक्ति - The Power Of Information

        

टिप्पणी – ट्राफिकको संरक्षणमा टिपर आतंक

टिपर ‘सडकका साढे’, असुरक्षित शहर, लाइन पाएपछि ट्राफिकलाई हाइसन्चो

ट्राफिक प्रहरीकै कारण टिपर चालकको आत्मबल उच्च छ । उनीहरुलाई कसले रोक्ने रु नियमन गर्ने निकाय नै कमिसनमा अल्झिएर मस्त निन्द्रामा पुगेपछि त टिपर चालकलाई ‘ढुङ्गा खोज्दा देउता’ भेटेजस्तै भएको छ ।

ट्राफिक प्रहरीका चेकपोष्ट हुँदै आउजाउ गर्ने टिपरको स्पिड एकदमै तीव्र हुन्छ । कारणबस टिपरले सवारी र मान्छेलाई छोयो भने उनीहरुको अचार बन्ने निश्चित छ । त्यसरी स्पिडमा कुदाउने टिपर चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीले छड्के चेकजाँचसम्म नगर्नुले गज्जबको सेटिङ्ग छ भन्ने पुष्टि हुन्छ ।

बाँकेमा नदी तथा खोला खुलेका छैनन् । नदीजन्य पदार्थको उत्खनन् तीव्ररुपमा बढिरहेको छ । तीन/चार दिनयता नेपालगन्ज तथा कोहलपुरका मुख्य सडकमा टिपरको राज चलेको छ । सानो सडक र गति तीव्रमा नदीजन्य पदार्थ ‘ओभरलोड’ मनपरी दौडिएका छन् । साना सवारीलाई ‘पेलेरै’ ओभरटेक गर्छन् ।

साना सवारीलाई त अहिले नै खाउँला, निलौलाजस्तो गरेर हुइँकिन्छन् । गलत साइडबाट ओभरटेक गर्दै साना सवारी साधनलाई पिसौला झैं गरेर कुदिरहेका हुन्छन् । नेपालगन्ज तथा कोहलपुर क्षेत्रमा टिपर आतंक निकै त्रासपूर्ण छ । एकविहानै अन्धाधुन्ध गतिमा बजार क्षेत्रमा प्रवेश गर्ने टिपरका कारण सर्वसाधारणहरु निकै त्रसित छन् ।

निर्माण सामग्री ओसार्ने टिपरहरू खेपपिच्छे पैसा बटुल्ने उछिनपाछिनमा लागेपछि बढी दुर्घटना गराउने र ज्यान लिने ‘खतरनाक’ सवारी बनेका छन् । पछिल्लो समय शहरी क्षेत्रमा हाउजिङ, अपार्टमेन्ट र व्यक्तिगत घर बन्ने क्रम तीव्र छ । सडक विस्तार लगायत अन्य पूर्वाधार निर्माण बढेका छन् ।

ढुंगा, गिटी, बालुवा तथा इँटा ओसार्न र माटो ल्याउन–फाल्न टिपरलाई भ्याइनभ्याइ छ । टिपरहरू जति खेप ओसार्यो, त्यति बढी कमाउँछन् । आम्दानीको लोभमा एकैदिन बढी ट्रिप भ्याउन खोज्छन् । कामको चाप बढेपछि टिपर व्यवसायीले चालकलाई भत्ता दिन्छन् । टिपर चालकले प्रतिखेप एक हजारदेखि २५ सय रुपैयाँसम्म भत्ता पाउँछन् ।

दिनभरिमा जसले जति खेप ओसार्न सक्यो, कमाइ उति बढी हुन्छ । व्यवसायी र चालकको यस्तो होडबाजीले टिपरको गति बढेको छ । उनीहरू ‘ढिलो गुडे कम पैसा, छिटो कुदे बढी पैसा’ शैलीमा कुद्न थालेका छन् ।’ मोटरसाइकल, स्कुटर, साइकल चालक तथा पैदलयात्रु बढी शिकार हुने खतरा अत्याधिक बढिरहेको छ ।

यस्ता सवारी टिपरको आवाजले नै हड्बडाउँछन् । टिपरले साना सवारी पेल्ने प्रवृत्ति उत्तिकै छ । महिलाले स्कुटर चलाएको देख्यो भने अझ बढी पेल्न खोज्छन् । यसले दुर्घटनाको जोखिम उच्च छ । नेपालगन्ज–४ बाइपासका गोविन्द शाही केही दिनदेखि नेपालगन्जमा टिपर आतंक बढेको र आफूलाई टिपर देखेरै डर लाग्ने बताउँछन् ।

‘यो सडकमा टिपर एकदमै बढी गुड्छन् । सडक साँघुरो छ । टिपरहरू विस्तारी गुड्दै गुड्दैनन् । यमराज आएजस्तो बत्तिँदै आउँछन् । देख्नेबित्तिकै पर भाग्नुपर्छ । होइन भने कुनबेला ठोक्दिन्छ भर हुन्न,’ उनले भने, ‘टिपरको तीव्र गति नरोकिने हो भने दुर्घटना झन् धेरै बढ्ने, झन् धेरैको ज्यान जाने निश्चित छ ।’

टिपर कुदाउने अधिकांश चालक कम अनुभवी र आलाकाँचा छन् । ३० वर्षभन्दा कम उमेरका बढी छन् । कतिले भर्खरै लाइसेन्स लिएर गाडी चलाउन थालेको बताउँदै जिल्ला ट्राफिक प्रहरी स्रोतले भन्यो, ‘केही वर्षयता टिपरको स्टेयरिङ भर्खरै लाइसेन्स पाएका अनुभवविहीन आलाकाँचाका हातमा गएको छ ।’

‘हातमा स्टेयरिङ पाएपछि संसारै जितेजस्तो ठान्ने’ त्यस्ता चालक सवारी नियम उल्लंघन गर्न धक मान्दैनन् । गाडीको क्षमताले जति सक्छ, त्यही गतिमा कुदाउन खोज्छन् । यहाँका सडकमा ९० देखि १०० किलोमिटर प्रतिघन्टा गतिमा टिपर दौडिरहेका छन् । यस्तो बेला छिसिक्क केही भयो कि, ठूलै दुर्घटना हुन्छ । यसले शहर नै असुरक्षित भएको देखाउँछ ।

‘टिपर झट्ट हेर्दा ‘हेभी’ गाडीजस्तो देखिए पनि वास्तवमा यो दायाँबायाँ मोड्न सजिलो हलुका सवारी हो । यसको पिकअप राम्रो छ । चालकको कम मिहिनेतमै जतासुकै सुलुसुलु बग्छ,’ एक जना टिपर चालकले भने, ‘चलाउन सजिलो गाडी लापरबाह चालकको हातमा परेपछि के हुन्छ भन्ने उदाहरण विभिन्न घटनाहरुले देखाइरहेका छन् ।’

ट्राफिकलाई हाइसन्चो


टिपर आतंकलाई रोक्नुको साटो सम्शेरगन्ज, गनापुर, कम्दी, चिसापानी र सम्झना नाकाबाट नेतृत्व गरिरहेका ट्राफिक प्रहरीका अधिकृतहरुले टिपरलाई लाइन दिएर नदीजन्य पदार्थको अवैध दोहनलाई बैधानिकता दिइरहेका छन् । मासिकरुपमा असुली हुन थालेपछि अहिले ट्राफिक प्रहरीले दोडिरहेको टिपरलाई रोक्ने त के, हेर्नेसम्मको आँट पनि गर्दैन ।

बाँकेमा ट्राफिक प्रहरीले नै असुलीतिर केन्द्रीत हुँदै टिपरलाई प्रश्रय दिएकाले टिपर आतंकमा डरलाग्दो छ । ट्राफिक नियम पालना गराउने निकाय नै सेटिङ्ग मिलाएर कानमा तेल हालेर ‘हाइसन्चो’ भएर चिर निन्द्रामा सुतिरहेको छ । साँझ परेपछि मापसे चेकजाँचका नाममा ‘असुलीको पासो’ थापेर बस्ने ट्राफिक प्रहरी टिपरलाई निर्वाध दौड्न दिएको छ ।

ट्राफिक प्रहरीका चेकपोष्ट हुँदै आउजाउ गर्ने टिपरको स्पिड एकदमै तीव्र हुन्छ । कारणबस टिपरले सवारी र मान्छेलाई छोयो भने उनीहरुको अचार बन्ने निश्चित छ । त्यसरी स्पिडमा कुदाउने टिपर चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीले छड्के चेकजाँचसम्म नगर्नुले गज्जबको सेटिङ्ग छ भन्ने पुष्टि हुन्छ ।

अझ भन्नुपर्दा टिपरसँग गज्जवको सेटिङ्ग मिलाएर जिल्ला ट्राफिक प्रहरी कार्यालय मस्त निदाइरहेको छ । ट्राफिक प्रहरीका हाकिम सा’ब नागरिकको जीउ ज्यानमाथि खेलबाड गर्दै दुर्घटना कम गराउन र जनताको बाँच्ने अधिकार सुरक्षाका लागि बनेको कानुन कार्यान्वयनको साटो टिपरसँग घाँटी जोडेर कमाउनमै ब्यस्त छन् ।

ट्राफिक प्रहरीकै कारण टिपर चालकको आत्मबल उच्च छ । उनीहरुलाई कसले रोक्ने ? नियमन गर्ने निकाय नै कमिसनमा अल्झिएर मस्त निन्द्रामा पुगेपछि त टिपर चालकलाई ‘ढुङ्गा खोज्दा देउता’ भेटेजस्तै भएको छ । किनकी, बाँकेमा ट्राफिक प्रहरीका उपल्लो दर्जाका केही अधिकृतहरुलाई नागरिकको जीउ ज्यानको कुनै मतलब नै छैन ।

ट्राफिक प्रहरीकै सेटिङ्गमा बाँकेमा नदीजन्य पदार्थको दोहन उत्कर्षमा पुगेको छ । खोलाहरुमा ठेक्का लागिसकेको छैन । तर, प्रति १० मिनेटमा ३ देखि ५ वटा टिपर नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् । मापसे चेकजाँचका नाममा साना सवारीलाई दुख दिने ट्राफिक प्रहरी टिपरलाई रोक्नेसम्म आँट गर्दैन ।

बाँकेमा सबैभन्दा धेरै राप्ती नदीबाट नदीजन्य पदार्थ उत्खनन् भइरहेको छ । ट्राफिक प्रहरीले लाइन दिएपछि उनीहरु निर्धक्क अवैध नदीजन्य पदार्थ खुलेआम बेचिरहेका छन् । बाँकेको कम्दी, समशेरगन्ज, चिसापान र सम्झना क्षेत्रबाट ट्राफिक प्रहरीका पोष्टलाई मात दिँदै टिपरहरु अवैध नदीजन्य पदार्थ बोकेर हुइँकिरहेका हुन्छन् ।

टिपर आतंकलाई रोक्नुको साटो सम्शेरगन्ज, गनापुर, कम्दी, चिसापानी र सम्झना नाकाबाट नेतृत्व गरिरहेका ट्राफिक प्रहरीका अधिकृतहरुले टिपरलाई लाइन दिएर नदीजन्य पदार्थको अवैध दोहनलाई बैधानिकता दिइरहेका छन् । मासिकरुपमा असुली हुन थालेपछि अहिले ट्राफिक प्रहरीले दोडिरहेको टिपरलाई रोक्ने त के, हेर्नेसम्मको आँट पनि गर्दैन ।

स्थानीयका अनुसार अवैध उत्खनन रोक्न खोज्दा आक्रमण हुने डर छ । मध्यरातसम्म नदी, खोला तथा सडक छेउछाउ घर भएका नागरिकहरु राम्रोसँग सुत्नसमेत पाउने अवस्था छैन । राप्तीसोनारी–६ का गोविन्द पौडेल भन्छन्, ‘धेरैपटक प्रहरीलाई खबर गरे पनि सुनुवाइ भएन । सबै मिलेका छन् । अनि कहाँबाट रोकिन्छ नदीको दोहन ?’

राप्तीसोनारी–५ का रामलाल थारुले आफूहरुले अवैध उत्खनन् रोक्न खोज्दा धम्की आउन थालेपछि चुपचाप बस्नुपरेको बताए । उनले भने, ‘हाम्रो माथिसम्म सेटिङ्ग छ, धेरै विरोध गरेपछि टिपरले च्यापेर उडाइदिन्छौं अनि थाहा होला ? भन्दै टिपर धनीले धम्की दिन्छन् । प्रशासन उनीहरुकै पक्षमा छ, हामीले बोलेर साध्यै छैन ।

पछिल्लो समय रकम असुलीका नाममा ट्राफिक प्रहरीको दादागिरी बाँकेमा निकै बढेको छ । नेपालगन्जका बिनोद अग्रहरी प्रश्न गर्दै फेसबुकमा लेख्छन्, ‘प्रतिमिनेट ३ वटा टिपर बालुवा लिएर नेपालगन्ज क्रस गर्छन् । राती १० बजेपछिको संख्या झन् धेरै छ । दैनिक कति राजस्व उठ्दैछ ? सरकार निकाय कसैले जानकारी गराउन सक्नुहुन्छ ?

‘हामीले कसलाई भन्ने ? प्रहरीलाई भन्यो, कारवाही हुँदैन, हामीलाई कसैले टेर्दैनन् । गाउँका ठूलाबडा र प्रहरी प्रशासन उनीहरुसँगै मिलेका छन् । हामीले रोक्न खोज्दा धम्की आउँछ । हामी आफै असुरक्षित भएर आफ्नो ज्यानको बाजी लगाउन सक्दैनौं,’ राप्तीसोनारी–६ का एक जना स्थानीयले सत्यपाटीलाई बताए ।

बाँकेका नदी तथा खोलामा खुलेआम अवैध उत्खनन् भइरहेको छ । नदीजन्य पदार्थ बोकेर आउने टिपर निर्वाध दौडिन्छन्, ट्राफिक प्रहरीका तल्लो तहका कर्मचारीलाई रोक्ने आँट नै छैन । किनकी, टिपर रोक्न हाकिमको आदेश छैन । रोकिहाले ‘हाकिमको नजरमा परिन्छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय स्रोतले सत्यपाटीलाई बतायो ।

स्थानीय पहुँच भएका व्यक्ति र प्रहरीको मिलेमतोमा नदी तथा खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन हुने गरेको बैजनाथ गाउँपालिका–१, चिसापानीका महेन्द्र थापाले बताए । चिसापानी क्षेत्रका खोलामा अवैध दोहन भइरहेको र आफूहरुले रोक्ने अनेक प्रयास गर्दा पनि ट्राफिक प्रहरीको मिलेमतो रहेकाले रोक्न नसकिएको उनले बताए ।

‘स्थानीय प्रशासनको सहयोगविना रोक्न सक्ने अवस्था छैन,’ उनले भने, ‘प्रहरी नै उनीहरुसँग मिलेको छ, अनि हामी आफै असुरक्षित बनेर रोक्न सक्ने स्थिति छैन ।’ जिम्मेवारी पाएर पनि प्रहरी प्रशासनको सहयोग नहुँदा अवैध उत्खनन गर्नेसँग लाचार जस्तै बन्नुपर्ने अवस्था रहेको जिल्ला समन्वय समितिका एक जना कर्मचारीले बताए ।

अनुगमनमा जाँदा पहिले नै एक्साभेटर, टिपर, ट्याक्टर भगाउने र कुनै साधन नियन्त्रणमा लिइहाले पनि कारवाहीका लागि प्रहरीले असहयोग गर्ने गरेको नाम नबताउने शर्तमा ती कर्मचारीको भनाई छ । ‘हामीले रोक्न खोजे पनि सम्भव छैन । जीउज्यानको सुरक्षाका कारण पनि प्रहरी प्रशासनको सहयोगविना दोहन रोक्न सकिँदैन ।’

नदीजन्य पदार्थको ठेक्का प्रक्रियामा नजाँदा अवैध उत्खनन् र चोरी निकासी मौलाएको छ । अवैध उत्खनन् र चोरी निकासी मौलाएसँगै राप्तीसोनारी गाउँपालिकामा मात्रै बार्षिक झण्डै १५ करोड बराबरको राजस्व गुम्ने गरेको गाउँपालिका स्रोतले बतायो । गाउँपालिकाले गत वर्ष १४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।

‘नदी तथा खोला ठेक्कामा नजानुको फाइदा उठाउँदै तस्करले बाँकेका नदी तथा खोलाजन्य वस्तु उत्खनन गरेर चोरी निकासी गरिरहेका छन्,’ ट्राफिक प्रहरी स्रोतले भन्यो, ‘यसमा जिल्ला ट्राफिक प्रहरीको भरपुर साथ छ । हामीलाई टिपर कहीँकतै नरोक्ने आदेश नै छ । हामीले आदेश मान्नेपर्छ । त्यसैले त टिपरहरु निर्वाध दौडिरहेका छन् ।’

नदीजन्य पदार्थको चोरी निकासीमा रातो नम्बर प्लेटका टयाक्टरसमेत प्रयोग भएका छन् । नियमनकारी निकाय मौन बसेका कारण भन्सार शुल्कमा विशेष छुट लिएर कृषि कामका लागि विशेष सुविधामा खरिद गरिएका ट्याक्टरहरुले सुविधाको दुरुपयोग गर्दै नदी तथा खोलाजन्य पदार्थ ओसारिरहेका बेला ट्राफिक प्रहरी मौन छ ।

असोजबाटै नदीजन्य पदार्थ ढुंङ्गा, गिटी, बालुवाको ठेक्का खोलिनुुपर्नेमा ठेक्का नहुँदा खुलेआम दोहन भइरहेको स्थानीयहरु बताउँछन् । जिल्ला समन्वय समिति बाँके निकट स्रोतका अनुसार गत आर्थिक वर्षमा खोलिएको टेण्डरको मयाद ०७६ असार १ गते सकिएपछि गाउँपालिकाले स्टक प्रमाणित गर्नुपर्नेमा स्टक प्रमाणित नै गरेका छैन ।

उनीहरुले स्टक प्रमाणित नगर्दा ठेक्का प्रक्रियामा बिलम्ब भएको र त्यसको फाइदा स्वरुप सिधै नदी खोलाबाट ढुंङ्गा, गिटी, बालुवा निकालिरहेका छन् । ‘ठेक्का लागेको छैन, तर निर्वाध सिधै खोलाबाट धमाधम नदीजन्य पदार्थ झिकेर सबैको नाकै मुनीबाट टिप्पर कुदेका छन्, कसैले रोकतोक छैन । सबैको मिलेमतोमै सबै चलिरहेको छ,’ स्रोतले भन्यो ।

के छ कानुनी व्यवस्था ?


नेपालमा चालकको लापरबाहीलाई दुर्घटना सम्बन्धी कमजोर कानुनी व्यवस्थाले प्रश्रय दिइरहेको छ । हामी कहाँ दुर्घटना गराउने चालकलाई कडा कारबाही वा सजाय छैन । दुर्घटनाको प्रकृति हेरेर कानुनले क्षतिपूर्ति, ज्यान मार्ने उद्योग र अंगभंग मुद्दा गरी तीन किसिमका कारबाही तोकेको छ ।

प्रचलित व्यवस्थाअनुसार २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि अदालतमा मुद्दा दायर हुन्छ । सामान्य सवारी मुद्दामा दुई वर्ष कैद सजाय व्यवस्था छ । लापरबाहीपूर्वक गाडी चलाएर ज्यान लिएको छ भने ज्यान मुद्दाअन्तर्गत पाँचदेखि १२ वर्ष कैद हुन्छ । सवारी ज्यान मुद्दामा अहिलेसम्म दुई वर्ष कैदभन्दा बढी सजाय कसैलाई भएको छैन ।

धेरै चालकले २४ दिन हिरासतमा बसेरै उन्मुक्ति पाउँछन् । दुर्घटना गराउने गाडी व्यवसायी र पीडित पक्षबीच मिलापत्र गराएर चालकलाई उन्मुक्ति दिने प्रवृत्ति पनि छ । चालक लापरबाह हुनुको अर्को कारण, दुर्घटनाको आर्थिक भारबाट उन्मुक्ति हो । उनीहरूले जतिसुकै ठूलो दुर्घटना गरे पनि न उपचार खर्च बेहोर्नुपर्छ, न पीडित पक्षलाई क्षतिपूर्ति तिर्नुपर्छ ।

आफ्नो केही नोक्सान नहुने भएपछि मान्छे स्वतः लापरबाही भइहाल्छ । सडक पूर्वाधार, ट्राफिक नियम र यहाँको भौगोलिक अवस्थाबीच तालमेल नमिल्नुले दुर्घटना जोखिम निकै उच्च छ । मान्छे, साइकल, दुई पाङ्ग्रेदेखि ठेलागाडा र जनावरसमेत सँगसँगै हिँड्ने शहरी सडकमा गति सीमामा ध्यान नदिँदा दुर्घटनाको जोखिम उच्च रहेको सम्वद्धहरु बताउँछन् ।

यो पनि पढ्नुस् :

बाँकेमा नदीजन्य पदार्थको अवैध दोहन : बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन्, ट्राफिक प्रहरीकै सेटिङ्गमा तस्कर सक्रिय

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार १६:२४