नेपालगन्ज उपमहानगरपालिकाका बासिन्दाले हात्तीपाइलेविरुद्धको औषधि सेवन नगरिदिँदा बाँकेमा अभियान नै ‘असफल’ भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०६७ देखि जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने कार्य सञ्चालन गर्दै आएको छ ।
अभियान सञ्चालन गर्ने क्रममा जिल्ला स्वास्थ्य कार्यालयले ‘सावधानी’ अपनाउन नसक्दा बाँकेवासीले हात्तीपाइलेको औषधि नै खान मान्दैनन् । अभियानको शुरुआतमा स्वयंसेविकाले घर परिवार सङ्ख्या गनेर दिएको औषधि जथाभावी खाँदा धेरै जना बिरामी परेकाले औषधिले उल्टो असर गरेको बुझेर औषधि खानेको सङ्ख्या कम हुँदै गएको छ ।
मानिसलाई नडराई औषधि सेवन गर्न जिल्ला स्वास्थ्य कार्यालयले बारम्बार आग्रह गरे पनि निर्धक्कसँग औषधि सेवन गर्ने वातावरण बनाउन सकेको छैन । खल्तीका पत्रकार र केही आसेपासेलाई होटलको हलभित्र राखेर भत्तामात्रै वितरण गरेर आम नागरिकसम्म सचेतना फैलिन्छ भन्ने स्वास्थ्यका कर्मचारीको मानसिकताका कारण अभियान असफल बनेको छ ।
सोचेअनुसारको नतिजा नआएपछि जिल्लामा लगातार १२ औं पटक हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले खल्तीका पत्रकार र केही आसेपासेलाई भत्ता र सूचना बाँड्ने बाहेक अभियानका आम नागरिकलाई सचेत गराउन नसक्दा अभियान प्रभावकारी बन्न नसकेको नागरिकहरु बताउँछन् ।
आसेपासेलाई बोलाएर हात्तिपाइले रोग निवारणका लागि भन्दै होटलका हलभित्र भत्ता र विज्ञापन बाँडेर अभियान सफल नहुने कार्यलयकै केही कर्मचारीहरु बताउँछन् । नाम नबताउने शर्तमा ती कर्मचारीले भने, ‘वर्षेनी ठूलो रकम खर्च हुने गर्छ, तर जिल्ला अझै जोखिममै रहनुले अभियान प्रभावकारी नभएको देखिन्छ ।’
सरकारले सन् २०२० सम्ममा सो रोग निवारण गर्ने लक्ष्य लिए पनि बाँकेमा सन् २०२२ सम्म पनि अभियान चलाउनुपरेको छ । यसको कारण स्वास्थ्यकै कर्मचारीको कमजोरी रहेको आम नागरिकको बुझाई छ । स्वास्थ्य कार्यालयले सर्वसाधारणमा सचेतना फैलाउन नसक्दा सो रोगविरुद्धको औषधि सेवन गर्नेको संख्या कम हुँदै गएको छ ।
हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहँदा नेपालगन्ज उपमहानगरपालिकामै निकै कम संख्याले त्यस रोगविरुद्धको औषधि प्रयोग गरेका छन् । जसका कारण हात्तीपाइले रोग नियन्त्रणमा चुनौती थपिदै गएको छ । यस बर्ष चलिरहेको अभियानका क्रममा नेपालगन्ज उपमहानगरपालिकामा २० प्रतिशतले मात्रै औषधि सेवन गरेका छन् ।
अन्य पालिकामा भने ६० प्रतिशत बढीले औषधि लिएका छन् । हात्तीपाइले रोग नियन्त्रणका लागि वर्षमा एकपल्ट र लगातार ६ वर्षसम्म सेवन गरे रोग नियन्त्रणमा सहज हुने विश्वास गरिएको थियो । तर, स्वास्थ्य कार्यालयका कोठे कार्यक्रम र भत्तामूखी सचेतनाले बाँकेबासी भने हात्तीपाइले रोगको उच्च जोखिममा छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले सर्वसाधारण लक्षित सचेतना कार्यक्रम सञ्चालन गर्न नसक्दा जिल्लामा औषधि प्रयोग गर्न नमान्दा अभियान प्रभावित हुँदै आएको छ । बाँकेमा १२ चरणमा हात्तीपाइले रोगविरुद्धको अभियानलाई निरन्तरता दिइरहँदा यस वर्ष पनि औषधि प्रयोग गर्नेको संख्या बढ्न सकेन ।
प्रदेश स्वास्थ्य निर्देशनालयले नेपालगन्जमा केही दिनअघि आयोजना गरेको हात्तीपाइले रोगको औषधी खुवाउने अभियानको योजना तर्जुमा गोष्ठी ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी कीटजन्य रोग निरीक्षक दुर्गा गौतमले नेपालगन्ज उपमहानगरपालिकामा निकै कमले औषधि सेवन गरेका कारण अभियान सफल हुन नसकेको बताइन् । हात्तीपाइले रोगविरुद्वको औषधि खाएपछि देखिने सामान्य नकारात्मक प्रभावबारे बढी प्रचार हुँदा कम व्यक्तिले औषधि प्रयोग गरेको बताइन्छ ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार बाँकेका ५ मध्ये १ व्यक्तिमा हात्तीपाइलेका जीवाणु पाइएको छ । मुलुकमै हात्तीपाइले रोग संक्रमणको पाँचौं उच्च जोखिममा रहेको बाँकेमा सन् २०११ बाट रोग नियन्त्रणका लागि औषधि खुवाउने अभियान सुरु गरिएको थियो । सन् २०१६ सम्म उक्त रोगको संक्रमण एक प्रतिशतभन्दा कममा झार्ने लक्ष्य थियो ।
स्वास्थ्य कार्यालयको लक्ष्य अनुसार औषधि प्रयोग निकै कमले गरेपछि हात्तीपाइलेविरुद्धको अभियान सफल हुन सकेको छैन । बाँकेमा २ हजार बढी हात्तीपाइलेको संक्रमणमा छन् । जिल्लाको कुल जनसंख्याको ठूलो हिस्सा उक्त रोगको जोखिम छ । बाँकेमा फागुन २८ बाट हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउने अभियान सञ्चालन भइरहेको छ ।
१४ दिनका लागि फागुन २८ गतेबाट बाँकेमा सुरु गरिएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानको समय पूरा भए पनि हालसम्म ५७.९ प्रतिशतले मात्र औषधि सेवन गरेको उनले बताइन् । विशेषगरी नेपालगन्ज उपमहानगरपालिकामा यस पटक पनि निकै कमले मात्र औषधि खाएकाले यहाँ सो रोग नियन्त्रणमा ठूलो चुनौती देखिएको छ ।
अझै करिब ४३ प्रतिशतलाई औषधि खुवाउन बाँकी रहेकाले सो अभियानलाई चार दिन थप गरेर चैत १५ गतेसम्म खुवाइने फोकल पर्सन गौतमले बताइन् । जिल्लामा पाँच लाख ६८ हजार ३९ जनालाई सो औषधि खुवाउने लक्ष्य निर्धारण गरिएकोमा हालसम्म तीन लाख २९ हजार ८९ जनाले मात्र औषधि सेवन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
औषधि सेवन नगर्नेमा सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकाका बासिन्दा रहेका छन् । नेपालगन्जमा हालसम्म ३९ प्रतिशतले मात्र औषधि सेवन गरेको जनाउँदै फोकल पर्सन गौतमले सबैभन्दा बढी समस्या उपमहानगरमै देखिएको बताइन् । पटक पटक स्वास्थ्यकर्मी घरमा जाँदा पनि अधिकांश नगरवासीले औषधि सेवन गर्न नमानेको उनको भनाइ छ ।
नेपालगन्जमा एक लाख ६१ हजार ७०५ जनालाई औषधि खुवाउनुपर्नेमा ६३ हजार ८४७ जनाले मात्र औषधि सेवन गरेका छन् । यस पटकको अभियानमा सबैभन्दा बढी औषधि सेवन गर्नेमा डुडुवा र जानकी गाउँपालिका रहेका छन् । डुडुवामा ७४ प्रतिशत र जानकीमा ७३ प्रतिशतले सो औषधि सेवन गरेका छन् ।
गाउँपालिकाहरूमा दिनमा अधिकांश मानिस घरमा नभेटिने हुँदा बेलुकी रातिसम्म खुवाउने कार्य भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । देशमै हात्तीपाइले रोग सङ्क्रमणको पाँचौँ उच्च जोखिममा रहेको बाँके जिल्लामा सन् २०११ बाट रोग नियन्त्रणका लागि औषधि खुवाउने अभियान सुरु गरिएको थियो ।
सो अभियान सुरु गर्दा सन् २०१६ सम्म उक्त रोगको सङ्क्रमण एक प्रतिशतभन्दा कममा झार्ने लक्ष्य थियो । तर, सुरुबाटै जिल्लामा औषधि प्रयोग निकै कमले गर्दै आएपछि बाँकेमा १२ औँ पटक सञ्चालन गर्दा पनि अभियानले पनि अपेक्षित सफलता पाउन सकेको छैन । यसपटक पनि धेरै औषधि सेवन नगरेपछि अभियान नै प्रभावित भएको छ ।
सन् २०१२ मा गर्मी महिनामा सञ्चालन गरिएको औषधि सेवन अभियानमा केही व्यक्तिको मृत्यु र डेढ सय बढी बिरामी परेको समाचारका कारण धेरैले औषधि प्रयोग गर्न मान्दैनन् । गत वर्ष चिसो महिनामा उक्त अभियान सञ्चालन गर्दा नकारात्मक प्रभाव नदेखिएपछि औषधि प्रयोग गर्नेको संख्या बढेको थियो ।
सत्यपाटी । बाँके ।