सूचनाको शक्ति - The Power Of Information

        

मानिसको आयु बढाउन सकिने सम्भावना बलियो हुँदै !

दसकौँदेखि वैज्ञानिकहरू मानव शरीरलाई बुढ्यौली हुनबाट रोक्ने उपायको खोजीमा लागिरहेका छन् । केही वैज्ञानिकहरू मानिसको बितेको जीवन कहिल्यै फर्काउन नसकिने बताउँछन् ।

तर, केहीले भने आगामी २० वर्षभित्रमा बुढ्यौली रोक्ने उपाय पत्ता लगाइसक्ने दाबी गर्छन् । यस्तो दाबी साहसिक देखिन सक्छ । तर बुढ्यौली रोक्ने एउटा नयाँ सप्लिमेन्टले वैज्ञानिकहरूले सोचिए भन्दा पहिलै लक्ष हासिल गर्न सक्ने देखिएको छ ।

बेलोर कलेज अफ मेडिसिनका मेडिसिन–एन्डोक्रिनोलोजीका सहायक प्राध्यापक डा.राजागोपाल विश्वनाथ शेखरले ‘माइटोकोन्ड्रिया’ले बुढ्यौलीलाई मन्द पार्न महत्वपूर्ण भूमिका निभाउनसक्ने बताएका छन् ।

डा.शेखर बुढ्यौलीविरुद्धको नयाँ सप्लिमेन्ट अध्ययनका वरिष्ठ लेखक हुन् । त्यो सप्लिमेन्टले मुसाको आयु २४ प्रतिशतले बढाउन मद्धत पुर्याएको छ ।

डा.शेखर भन्छन्, ‘बुढ्यौली बढ्नु पछाडि दुईवटा मुलभूत त्रुटि छन् । पहिलो हाम्रो शरीरको माइटोकोन्ड्रिया निष्कृय हुनु हो । अर्को, आक्सिडेटिभ तनाव बढ्नु । बढ्दो चिन्ता वा तनावले मानव शरीरका माइटोकोन्ड्रिया लगायत कोषहरूका अन्य भागलाई पनि हानी पुर्याउँछ ।’

डा.शेखर र उनका सहकर्मीहरूले परीक्षण गरेको बुढ्यौली रोक्ने सप्लिमेन्टले शरीरमा ग्लुटाथाइयोन घटाएर यी समस्याहरू रोकेको पाइएको छ । ग्लुटाथाइयोन कोषहरूमा पाइने प्राकृतिक एन्टिअक्सिडेन्ट हो ।

यो एन्टिअक्सिडेनटले शरीरलाई अक्सिडेटिभ तनावलगायत पारो र अन्य विषाक्त धातुहरूबाट जोगाउने गर्दछ । उमेर बढ्दै जाँदा मानव शरीरमा ग्लुटाथाइयोनको मात्र घट्दै जान्छ । त्यस्तो अवस्थामा हाम्रो शरीरले थप अक्सिडेटिभ तनाव महसुस गर्छ भने माइट्रोकोन्ड्रियाले पनि राम्ररी काम गर्न छोड्छ ।

त्यसैले उमेर चढ्दै जाँदा हाम्रो शरीर बाँच्नका लागि आवश्यक गम्भीर श्रोतहरू बनाउन कम सक्षम हुन्छ । त्यसपछि हाम्रो शरीरले साइड इफेक्टहरू महसुस गर्न थाल्छ । तिनीहरू नै बुढ्यौलीका सामान्य लक्षण बन्छन् ।

यस अध्ययनको उद्देश्य नै हामी बुढो हुँदा पनि शरीरलाई ती स्रोतहरू बनाउन दिइरहनु हो । डा.शेखर र उनका सहकर्मीहरूले ‘ग्लाइन्याक’ नामक सप्लिमेन्ट प्रयोग गरेर मुसाहरूको ग्लुटाथाइयोन त्रुटिमा सुधार ल्याएर तिनीहरूको आयु बढाउन सफल भएका छन् ।

ग्लाइन्याक एक प्रकारको एमिनो एसिड ‘ग्लाइसिन’ र औषधि एन–एसिटिरस्टिइनको मिश्रण हो । तर डा.शेखरले ग्लाइन्याकलाई मानवका लागि बुढ्यौली रोक्न प्रयोग गरिनुअघि यसको अझै धेरै परीक्षण गर्न बाँकी नै रहेको बताएका छन् । (बीजीआरबाट)

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार ०७:४२