स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै जुम्लाका प्रमुख राजनीतिक दल सम्बद्ध नेताले अध्यक्ष र मेयरको सम्भावित उम्मेद्वारको रुपमा आफ्नो दाबी प्रस्तुत गर्न सुरु गरेका छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा पुर्व जनमूक्ति सेनाका कमान्डरसमेत रहेका जनक परियार ‘विन्दमान’ माओवादी केन्द्रबाट पालिकाको अध्यक्षमा लड्ने भएका छन् ।
विद्यार्थीकालदेखि माओवादीको राजनीतिमा सक्रिय हुँदै युवा पुस्ताका प्रभावशाली, उर्जावान् र जनप्रिय छवि बनाएका ‘विन्दमान’ले तिला गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्वारी दिने बताउँदै आफ्नो दावी प्रस्तुत गरेका छन् ।
सशस्त्र द्वन्द्वकालमा लडाकूको महत्वपूर्ण भूमिका खेल्दै जनमूक्ति सेनाको ‘बटालियन’ कमाण्डरको कुशलतापूर्वक जिम्मेवारी पुरा गरेका ‘विन्दमान’ले माओवादीबाट आफु तिलाको समग्र विकास र समृद्धिको लागि अध्यक्षमा दावी गरेको जानकारी दिए ।
राजनीति र जनसेवामा सक्रिय ३८ बर्षिय ‘विन्दमान’ले अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारीबारे बताउँदै भने, ‘युवा शक्तिले राजनीतिको नेतृत्व लिनुपर्छ । युवाले जनसेवा र जनचाहाना अनुसार काम गर्ने इच्छा ब्यक्त गरिरहेका छन् । म पनि त्यसमध्येको एक हुँ ।’
पूर्व जनमूक्ति सेनाको ‘बटालियन’ कमान्डरदेखि पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)को नेतृत्वदायी भूमिका निर्वाह गरेका ‘विन्दमान’ले राष्ट्रिय राजनीतिमा आफूलाई स्थापित गरिसकेका छन् ।
स्थानीय सरकारको नेतृत्वमा जान समस्या नभएको बताउँदै जनकले भने, ‘पार्टीको आवश्यकता अनुसार मैले परिवर्तन दृष्टिकोणसहित सफल नेतृत्व दिनसकेको छु । स्थानीय सरकारको नेतृत्व लिन नसक्ने भन्ने कुरै हुँदैन, पार्टीले गर्ने निर्णयमा नै धेरै भरपर्छ । यो पटक पार्टीले मलाई जिम्मेवारी दिए म चुनाव लड्ने मनस्थितिमा छु ।’
आफ्नो उम्मेद्वारी आम कार्यकर्ता र तिलाबासीको चाहनासँग जोडिएको उनले बताए । ‘जिम्मेवारी समय, परिस्थिति र पार्टीको आवश्यकता अनुसार निर्णय हुने विषय हो,’ उनले भने, ‘पार्टी सफल रुपमा नेतृत्व लिएको अनुभवले पनि अब मैले स्थानीय सरकार सञ्चालन गर्ने जिम्मेवारीमा पुग्नुपर्छ भन्ने चाहना हो ।’
आफूले विगतदेखि नै अध्यक्षका लागि तयारी गरिसकेको पनि उनले जानकारी दिए । उनले भने, ‘मैले पहिलेदेखि नै तयारी शुरु गरिसकेको छु । पार्टीमा मेरो योगदान र क्रियाशिलताको कदर पार्टी नेतृत्वले गर्नेछ ।’ पार्टीले उचित मुल्यांकन गर्नेमा आफु विश्वास रहेको परियारले बताए ।
को हुन जनक परियार ‘विन्दमान’ ?
जुम्लाको तिला गाउँपालिका–२ लिहीमा जन्मेका परियार १० कक्षाबाट विद्यार्थी राजनीतिमा सक्रिय भए । २०५७ देखि २०५८ सालसम्म अखिल क्रान्तिकारीको विद्यार्थीको एरिया कमिटी सदस्य हुँदै दलित मुक्ति मोर्चा संयोजकको जिम्मेवारी हुँदै २०५९ मा पहिलो पटक वाइसीएल घोषणा हुँदा जुम्ला र कालिकोट जिल्लाको कोषाध्यक्षको भूमिकामा काम गरिसकेका छन् ।
परियार २०६० सालमा जनमूक्ति सेनाको बटालियन कमान्ड हुँदै २०६३ देखि २०६८ सम्म अर्धाखाँची जिल्लाको वाइसीएल अध्यक्ष भई काम गरिसकेका छन् । परियार हाल माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाका सदस्य र तिला गाउँपालिका कमिटीको उपाध्यक्षको जिम्मेवारीमा रहेर राजनीति र समाजसेवामा क्रियाशिल रहेका छन् ।
विजय रावत । जुम्ला ।