बाँकेमा नदीजन्य पदार्थको ठेक्का लागिसकेको छैन । तर, प्रति १० मिनेटमा ३ देखि ५ वटा टिपर नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् । आखिर कहाँबाट आयो त्यत्रो परिमाणको नदीजन्य पदार्थ ? नदी तथा खोलामा जथाभावी दोहन भइरहँँदा स्थानीय प्रशासन मौन, जिल्ला समन्वय समिति चुपचाप किन ?
बाँकेमा नदीजन्य पदार्थको अवैधरुपमा उत्खननमा तस्कर सक्रिय भएका छन् । यहाँका झण्डै एक दर्जन खोलाबाट रातारात नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन भइरहेको छ । बैजनाथ, राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाभित्रका विभिन्न खोला तथा राप्ती नदीमै एक्साभेटर लगाएर नदीजन्य पदार्थको अवैधरुपमा उत्खनन भइरहेको छ ।
राप्तीसोनारी गाउँपालिकाको वडा नं २ मा पर्ने खैरी, परुवा, झिझरी र मुगुवा खोला, वडा नं.६ को ढलैया, जललाघाट, वडा नं ५ को आलिनगर, वडा नं. ८ को शम्शेरगन्ज तथा डुडुवा गाउँपालिका–५ को कम्दीस्थित राप्ती नदीको खजुरिया, बैजनाथ गाउँपालिकाको मानखोला क्षेत्रबाट नदीजन्य पदार्थको अवैध दोहन भइरहेको छ ।
केही क्षेत्रमा रातभर उत्खनन्को काम हुन्छ भने केही स्थानहरुमा दिनभर पनि निर्वाधरुपमा उत्खननको काम चलिरहेको छ । दिनरात एक्जाभेटरले टिपरमा गिट्टी, बालुवा भरिरहेका हुन्छन् । दर्जनौँ टिपर र ट्याक्टरले ओसारिरहेका छन् । ती स्थानमा रातमा काम हुन्छ भने पहुँच नभएका स्थानमा दिनरात अवैध उत्खननको काम हुन्छ ।
ट्राफिक प्रहरीको सेटिङ्गमा नदीजन्य पदार्थ उत्खनन र ढुवानी गरिरहेको टिपर धनी तथा चालकहरु बताउँछन् । ‘बाँकेमा हाम्रा टिपर कसले रोक्छ ? सबैतिर सेटिङ्ग छ, ट्राफिकलाई मासिक बुझाएकै छौं । त्यो सबै खर्च उठाउन पर्छ नि ?’ एक जना टिपर चालकले नाम नखुलाउने शर्तमा सत्यपाटीलाई बताए ।
बाँकेमा ट्राफिक प्रहरी प्रमूख हिमालय शाह आएसँगै नदीजन्य पदार्थको दोहन तीव्र रुपमा बढेको छ । सुरुमा लाइन मिलेका टिपरले अवैधरुपमै नदीजन्य पदार्थ ओसारपसार गर्दा मापदण्ड पुरा गरेर नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपरले भने कोहलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा घाम तापेर बस्नुपथ्र्यो ।
सबै कागजात बोकेर मापदण्डअनुसार नै चलेका टिपरलाई रकम असुलीको मनसाय बनाएर दुःख दिनकै लागि रोक्न खोज्दा नेपालगन्जको सडक विभाग ट्राफिक प्रहरी र टिपर चालकबीच झडपकै स्थिति निम्तिएको थियो । त्यस क्रममा ट्राफिक प्रहरीका जवान टेकराज अधिकारीमाथि हातपातसमेत भएको थियो ।
बाँकेमा नदीजन्य पदार्थको ठेक्का लागिसकेको छैन । तर, प्रति १० मिनेटमा ३ देखि ५ वटा टिपर नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् । आखिर कहाँबाट आयो त्यत्रो परिमाणको नदीजन्य पदार्थ ? नदी तथा खोलामा जथाभावी दोहन भइरहँँदा स्थानीय प्रशासन मौन, जिल्ला समन्वय समिति चुपचाप किन ?
स्थानीयका अनुसार अवैध उत्खनन रोक्न खोज्दा आक्रमण हुने डर छ । मध्यरातसम्म नदी, खोला तथा सडक छेउछाउ घर भएका नागरिकहरु राम्रोसँग सुत्नसमेत पाउने अवस्था छैन । राप्तीसोनारी–६ का गोविन्द पौडेल भन्छन्, ‘धेरैपटक प्रहरीलाई खबर गरे पनि सुनुवाइ भएन । सबै मिलेका छन् । अनि कहाँबाट रोकिन्छ नदीको दोहन ?’
राप्तीसोनारी–५ का रामलाल थारुले आफूहरुले अवैध उत्खनन् रोक्न खोज्दा धम्की आउन थालेपछि चुपचाप बस्नुपरेको बताए । उनले भने, ‘हाम्रो माथिसम्म सेटिङ्ग छ, धेरै विरोध गरेपछि टिपरले च्यापेर उडाइदिन्छौं अनि थाहा होला ? भन्दै टिपर धनीले धम्की दिन्छन् । प्रशासन उनीहरुकै पक्षमा छ, हामीले बोलेर साध्यै छैन ।
पछिल्लो समय रकम असुलीका नाममा ट्राफिक प्रहरीको दादागिरी बाँकेमा निकै बढेको छ । नेपालगन्जका बिनोद अग्रहरी प्रश्न गर्दै फेसबुकमा लेख्छन्, ‘प्रतिमिनेट ३ वटा टिपर बालुवा लिएर नेपालगन्ज क्रस गर्छन् । राती १० बजेपछिको संख्या झन् धेरै छ । दैनिक कति राजस्व उठ्दैछ ? सरकार निकाय कसैले जानकारी गराउन सक्नुहुन्छ ?
‘हामीले कसलाई भन्ने ? प्रहरीलाई भन्यो, कारवाही हुँदैन, हामीलाई कसैले टेर्दैनन् । गाउँका ठूलाबडा र प्रहरी प्रशासन उनीहरुसँगै मिलेका छन् । हामीले रोक्न खोज्दा धम्की आउँछ । हामी आफै असुरक्षित भएर आफ्नो ज्यानको बाजी लगाउन सक्दैनौं,’ राप्तीसोनारी–६ का एक जना स्थानीयले सत्यपाटीलाई बताए ।
बाँकेका नदी तथा खोलामा खुलेआम अवैध उत्खनन् भइरहेको छ । नदीजन्य पदार्थ बोकेर आउने टिपर निर्वाध दौडिन्छन्, ट्राफिक प्रहरीका तल्लो तहका कर्मचारीलाई रोक्ने आँट नै छैन । किनकी, टिपर रोक्न हाकिमको आदेश छैन । रोकिहाले ‘हाकिमको नजरमा परिन्छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय स्रोतले सत्यपाटीलाई बतायो ।
स्थानीय पहुँच भएका व्यक्ति र प्रहरीको मिलेमतोमा नदी तथा खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन हुने गरेको बैजनाथ गाउँपालिका–१, चिसापानीका महेन्द्र थापाले बताए । चिसापानी क्षेत्रका खोलामा अवैध दोहन भइरहेको र आफूहरुले रोक्ने अनेक प्रयास गर्दा पनि ट्राफिक प्रहरीको मिलेमतो रहेकाले रोक्न नसकिएको उनले बताए ।
‘स्थानीय प्रशासनको सहयोगविना रोक्न सक्ने अवस्था छैन,’ उनले भने, ‘प्रहरी नै उनीहरुसँग मिलेको छ, अनि हामी आफै असुरक्षित बनेर रोक्न सक्ने स्थिति छैन ।’ जिम्मेवारी पाएर पनि प्रहरी प्रशासनको सहयोग नहुँदा अवैध उत्खनन गर्नेसँग लाचार जस्तै बन्नुपर्ने अवस्था रहेको जिल्ला समन्वय समितिका एक जना कर्मचारीले बताए ।
अनुगमनमा जाँदा पहिले नै एक्साभेटर, टिपर, ट्याक्टर भगाउने र कुनै साधन नियन्त्रणमा लिइहाले पनि कारवाहीका लागि प्रहरीले असहयोग गर्ने गरेको नाम नबताउने शर्तमा ती कर्मचारीको भनाई छ । ‘हामीले रोक्न खोजे पनि सम्भव छैन । जीउज्यानको सुरक्षाका कारण पनि प्रहरी प्रशासनको सहयोगविना दोहन रोक्न सकिँदैन ।’
नदीजन्य पदार्थको ठेक्का प्रक्रियामा नजाँदा अवैध उत्खनन् र चोरी निकासी मौलाएको छ । अवैध उत्खनन् र चोरी निकासी मौलाएसँगै राप्तीसोनारी गाउँपालिकामा मात्रै बार्षिक झण्डै १५ करोड बराबरको राजस्व गुम्ने गरेको गाउँपालिका स्रोतले बतायो । गाउँपालिकाले गत वर्ष १४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।
‘नदी तथा खोला ठेक्कामा नजानुको फाइदा उठाउँदै तस्करले बाँकेका नदी तथा खोलाजन्य वस्तु उत्खनन गरेर चोरी निकासी गरिरहेका छन्,’ ट्राफिक प्रहरी स्रोतले भन्यो, ‘यसमा जिल्ला ट्राफिक प्रहरीको भरपुर साथ छ । हामीलाई टिपर कहीँकतै नरोक्ने आदेश नै छ । हामीले आदेश मान्नेपर्छ । त्यसैले त टिपरहरु निर्वाध दौडिरहेका छन् ।’
नदीजन्य पदार्थको चोरी निकासीमा रातो नम्बर प्लेटका टयाक्टरसमेत प्रयोग भएका छन् । नियमनकारी निकाय मौन बसेका कारण भन्सार शुल्कमा विशेष छुट लिएर कृषि कामका लागि विशेष सुविधामा खरिद गरिएका ट्याक्टरहरुले सुविधाको दुरुपयोग गर्दै नदी तथा खोलाजन्य पदार्थ ओसारिरहेका बेला ट्राफिक प्रहरी मौन छ ।
असोजबाटै नदीजन्य पदार्थ ढुंङ्गा, गिटी, बालुवाको ठेक्का खोलिनुुपर्नेमा ठेक्का नहुँदा खुलेआम दोहन भइरहेको स्थानीयहरु बताउँछन् । जिल्ला समन्वय समिति बाँके निकट स्रोतका अनुसार गत आर्थिक वर्षमा खोलिएको टेण्डरको मयाद ०७६ असार १ गते सकिएपछि गाउँपालिकाले स्टक प्रमाणित गर्नुपर्नेमा स्टक प्रमाणित नै गरेका छैन ।
उनीहरुले स्टक प्रमाणित नगर्दा ठेक्का प्रक्रियामा बिलम्ब भएको र त्यसको फाइदा स्वरुप सिधै नदी खोलाबाट ढुंङ्गा, गिटी, बालुवा निकालिरहेका छन् । ‘ठेक्का लागेको छैन, तर निर्वाध सिधै खोलाबाट धमाधम नदीजन्य पदार्थ झिकेर सबैको नाकै मुनीबाट टिप्पर कुदेका छन्, कसैले रोकतोक छैन । सबैको मिलेमतोमै सबै चलिरहेको छ,’ स्रोतले भन्यो ।
यस बिषयमा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । दिनका दिन नदीजन्य पदार्थ बोकेर टिपर र ट्यक्टर बाटोभरी दौडिरहेका छन् । उनले प्रहरी र प्रशासनले पनि यो गैरकानूूनी काम हो भन्ने थाहा हुँदाहुँदै पनि रोक्नतर्फ चासो नदिएको दिएको छैन ।
सत्यपाटी । बाँके ।