सूचनाको शक्ति - The Power Of Information

        

फोरलेन सडकको अतिक्रमण हटाइँदै

सुर्खेत रोडको अतिक्रमण हटाउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय बाँकेले फोरलेन सडकको अतिक्रमित घर–टहरा भत्काउन थालेको हो । पिप्रहवा क्षेत्रबाट अतिक्रमण हटाउन सुरु गरिएको छ ।

कोहलपुरबाट अतिक्रमण हटाउन सुरु गर्ने भनिए पनि त्यहाँका स्थानीयले हप्ता दिनको समय माग गरेपछि रोकिएको छ । अतिक्रमण हटाउन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसमेत कोहलपुर पुगेका थिए ।

नेपालगञ्जको जमुनाहादेखि कोहलपुरसम्मको सडक क्षेत्रमा सार्वजनिक सडक ऐन २०३१ ले तोकेको मापदण्डविपरीत निर्माण भएका, सडक अतिक्रमण गरी बनाइएका र २०६९ असोज ४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्बाट विल्डर्स एरियाका लागि तोकेको मापदण्डविपरीत रहेका स्थायी र अस्थायी संरचना हटाउन थालिएको हो ।

सडक डिभिजन कार्यालयले विल्डर्स एरियामा ४२ मिटर र अन्य ठाउँमा ५० मिटर फराकिलो सडक रहने बताएको छ । सबै ठाउँमा त्यही ४२ मिटर पनि छैन । कोहलपुर र नेपालगन्जको केही क्षेत्रलाई विल्डर्स भनिएको छ । ५० मिटर कै सडक बनाउने भनिए पनि केही टाठाबाठाले सोर्सफोर्स लगाएर ४२ मिटरमा खुम्च्याउन भ्याएका थिए ।

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा सुर्खेत रोडलाई फोरलेन बनाइएको हो । केही दिनअघि बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सुर्खेत रोडको अतिक्रमण हटाउने निर्णय गरेपछि सडक डिभिजन कार्यालय घर भत्काउन अघि सरेको हो । नेपालगन्जको सुर्खेत रोड र नेपालगन्जको धम्बोझीदेखि बर्दियाको मैनापोखरसम्मको सडक अतिक्रमण हटाउने निर्णय एकैपटक गरिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार ०९:३५