सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज (शुक्रबार) बस्दै छ । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेबाट बैठक सुरु हुने राष्ट्रिय सभाका सदस्यसमेत रहेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
कांग्रेसले चौथो केन्द्रीय कार्यसमिति बैठकका लागि तीन वटा एजेन्डा तय गरेको छ । मुख्य सचिव पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको तयारीसँगै निर्वाचन लक्षित ‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा हुनेछ । यस्तै बैठकले स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि केन्द्रीय संसदीय समिति गठन पनि गर्ने एजेन्डा तय गरिएको छ ।
मुख्य सचिव पौडेलले विविध शीर्षकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिए । एक पदाधिकारीले केन्द्रीय कार्यसमिति बैठकले तल्लो तहसम्मै चुनावी तालमेलको निर्णय गर्ने जानकारी दिएका छन् । उनका अनुसार बैठकले गठबन्धनमा नरहेका दलसँग तालमेल गर्न नपाउने सर्तसहित चुनावी तालमेलको निर्णय गर्ने सम्भावना छ ।
सर्तसहित चुनावी तालमेलका लागि निर्णय नगरिए गठबन्धनमा रहेका दलहरु एमालेसँग पनि मिल्न सक्नेमा कांग्रेस सशंकित देखिन्छ । किन सर्त राखियो भन्ने प्रश्नमा ती नेताले भने, ‘निःसर्त छोडिदियो भने त एमालेसँग गठबन्धन गरिदिन्छन् ।’ कांग्रेसका अर्का एक पदाधिकारीले पनि आगामी केन्द्रीय कार्यसमिति बैठकबाट सत्ता गठबन्धनमा रहेका दलहरूका बीचमा चुनावी तालमेलका विषयमा निर्णय गरिने जानकारी दिए ।
‘चुनावी गठबन्धनको निर्णय लिन्छौँ । कहाँ कसरी गर्ने भनेर केन्द्रले सम्बन्धित कार्य समितिलाई नै निर्णयको जिम्मेवारी दिन्छौँ’, उनले भने । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाका विश्वासपात्र एनपी साउदले पनि आगामी बैठकबाट चुनावी तालमेलका बारेमा सैद्धान्तिक निर्णय हुने बताए । ‘यही र त्यही भन्दा पनि आउँदो चुनावमा गठबन्धनकै प्रक्रियामा जाने भन्ने सैद्धान्तिक निर्णय बैठकले गर्छ,’ उनले भने ।
संस्थापनइतर समूहले बुधबार मात्रै चुनावी तालमेल र चार तहमा गठन हुनुपर्ने संसदीय समितिका बारेमा समूहको धारणा राख्ने निर्णय गरेको छ । सभापति देउवाले सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्ने नाममा पार्टीभित्रको एउटा समूहलाई किनारा लगाउने काम गरेको इतर समूहको बुझाइ छ ।
सत्यपाटी । काठमाडौं ।