चिनियाँ विदेशमन्त्री वाङ यी आज (शुक्रबार) नेपालको भ्रमणमा आउँदै छन् । हाल भारतमा रहेका वाङ परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा आज नेपाल आइपुग्ने भएका हुन् । उनी आइतबारसम्म नेपालमा रहने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस क्रममा परराष्ट्रमन्त्रीको नेतृत्वमा दुई मुलुकका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक हुने कार्यसूची छ । साथै चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्वय एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम छ ।
चीनले नेपालका लागि वार्षिक अनुदान सहयोगमा वृद्धि गर्ने भएको छ । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको शुक्रबारदेखि हुने नेपाल भ्रमणका क्रममा दस वटा सहमति÷सम्झौता हस्ताक्षर गर्ने तयारी भइरहेको भ्रमण तयारीमा संलग्न परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताए ।
तीमध्ये दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता अन्तर्गत चीनले नेपाललाई वार्षिक अनुदान सहयोग बढाउन लागेको हो । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार चीनले नेपाललाई वार्षिक अनुदान सहायता करिब १५ अर्ब रुपैयाँ पुर्याउने भएको छ । चीनले अहिले नेपाललाई वार्षिक करिब १३ अर्ब रुपैयाँ दिँदै आएको छ ।
यससम्बन्धी सम्झौता पत्रमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र एक चिनियाँ उपमन्त्री तहका अधिकारीबीच हस्ताक्षर हुने भएको छ । उक्त अनुदान सहयोग नेपालको पूर्वाधार विकासका परियोजनामा खर्च हुनेछ । राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा घोषणा भएको ५६ अर्ब अनुदान सहयोग कार्यान्वयनको विषय पनि यो भ्रमणमा छलफल हुने भएको छ ।
सन् २०२० देखि २०२२ सम्म खर्च गर्ने सहमति भएको अनुदान सहयोग कार्यान्वयनका लागि दुई देशबीच औपचारिक सम्झौता हुन सकेको थिएन । नेपालले त्यसबारे चिनियाँ पक्षको ध्यानाकर्षण गरेको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणमा केरुङ–रसुवागढी सीमापार रेलको विस्तृत सम्भाव्यता अन्तर्गत प्राविधिक पक्षबारे एक सहमति पत्रमा हस्ताक्षर हुने भएको छ ।
नेपाल र चीनबीच यसअघि सन् २०१९ मा रेल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । भौतिक योजना मन्त्रालयका एक अधिकारीका अनुासर अहिले हुन लागेको सहमति पत्र सम्भाव्यता अध्ययनकै विस्तारित रुप हो । वाङको भ्रमणमा उर्जा क्षेत्रमा पनि एक सहमति पत्रमा हस्ताक्षर हुनेछ ।
भ्रमण तयारीमा संलग्न अधिकारीहरुका अनुसार रातामाटे–केरुङ विद्युतीय प्रशारण लाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौतालाई परिमार्जन गर्ने सहमति पत्रमा हस्ताक्षर हुन लागेको हो । सन् २०१९ मा रातामाटे—केरुङ विद्युतीय प्रशारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न एक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । दुई वर्षभित्र सम्भाव्यता अध्ययन सक्ने भनिए पनि नसकिएका कारण अहिले फेरि नयाँ सहमतिपत्रमा हस्ताक्षर गर्न लागिएको उर्जा मन्त्रालयका एक अधिकारीले बताए ।
कोरला नाका खोल्ने सहमति हुने
अधिकारीहरुका अनुसार मुस्ताङस्थित कोरला सीमा नाका सुचारु भएको घोषणा गर्ने एक सहमति पत्रमा पनि हस्ताक्षर गर्ने तयारी भएको छ । तातोपानी र रसुवागढी नाकाको स्तरोन्नतिका लागि चीनले सहयोग गर्ने विषयमा पनि भ्रमणमा छलफल हुने भएको छ । ती नाकाबाट आयात र निर्यात सहज बनाउन नेपालले चीनको ध्यानाकर्षण गराउने भएको छ ।
भरतपुर क्यान्सर अस्पतालमा सहयोगबारे समझदारी पत्र
भ्रमण तयारीमा संलग्न अर्का अधिकारीका अनुसार चिनियाँ विदेशमन्त्रीको भ्रमणमा चीनको सहयोग रहेको भरतपुर क्यान्सर अस्पताल सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ । प्रस्तावित समझदारी पत्र अनुसार चीनले भरतपुर अस्पतालमा चिनियाँ चिकित्सक टोली पठाउनेछ ।
चीनतर्फ विकासे घाँस निर्यातबारे समझदारी पत्र
स्रोतका अनुसार नेपालबाट चीनतर्फ विकासे घाँस निर्यात गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । गत मंसिर दोश्रो साता बसेको मन्त्रिपरिषद् बैठकले गाईवस्तुको आहारका लागि मकै, नेपियर (विकासे घाँस) र जौको हेलेज (प्रशोधित) चीन निर्यात गर्न एक प्रोटोकल स्वीकृत गरेको थियो ।
नेपालमा अड्केका विद्यार्थी चीन फर्काउने घोषणा गर्ने
स्रोतका अनुसार वाङले नेपालका विद्यार्थीलाई चीनमा चाँडै फर्काउन तयार रहेको घोषणा परराष्ट्रमन्त्री खड्कासँगको द्विपक्षीय छलफलका क्रममा गर्ने भएका छन् ।
पोखरा विमानस्थलको टर्मिनल भवन उद्घाटन
चिनियाँ विदेशमन्त्री वाङले चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने भएका छन् । पर्यटन मन्त्रालय स्रोतका अनुसार विदेशमन्त्री वाङले भर्चुअल माध्यमबाट काठमाडौँबाटै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।
बीआरआई कार्यान्वयन सम्झौता हुने सम्भावना न्यून
चीनले बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी छाता सम्झौतालाई अन्तिम रुप दिन चाहेको नेपाली पक्षलाई बताएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उक्त सम्झौताको मस्यौदा चिनियाँ पक्षसँग साटासाट भइसकेको छ ।
‘तर चिनियाँ विदेशमन्त्रीको भ्रमणमा उक्त सम्झौता हस्ताक्षर हुने सम्भावना कम छ,’ मन्त्रालयका एक अधिकारीले भने । चिनियाँ पक्षले बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयन सम्झौताका लागि ताकेता गरे पनि परराष्ट्रमन्त्री डा. खड्काले सम्झौतालाई थप अध्ययन गर्न चाहेको बताइसकेका छन् । यसबाट चिनियाँ पक्ष असन्तुष्ट देखिएको अर्का एक अधिकारीले बताए ।
भ्रमण तयारी पुरा
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका लागि आवश्यक तयारी पुरा भएको बताइन् । विगतमा चीनसँग भएका सहमति र सम्झौता कार्यान्वयनलाई गति दिनेबारे भ्रमणमा कुराकानी हुने प्रवक्ता लम्सालले बताइन् । विदेशमन्त्रीको भ्रमणमा नेपाल र चीनबीच चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे विस्तृतमा छलफल हुने भएको छ ।
चिनियाँ टोली २५ सदस्यीय
विदेशमन्त्री वाङ नेतृत्वको चिनियाँ टोली शुक्रबार, शनिबार र आइतबार तीन दिन नेपालमा रहने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्को निमन्त्रणामा वाङ नेपाल भ्रमणमा आउन लागेका हुन् । चिनियाँ टोलीमा चीनका परराष्ट्र, उर्जा, सुरक्षा, अर्थ र वाणिज्य मन्त्रालयका बरिष्ठ अधिकारी तथा पत्रकार गरी झन्डै २५ जना सहभागी रहनेछन् ।
चिनियाँ टोली नयाँ दिल्लीबाट अपरान्ह ६ बजे काठमाडौँ उत्रने भएको छ । चिनियाँ विदेशमन्त्रीले नयाँ दिल्लीमा शुक्रबार दिउँसो भारतीय समकक्षी एस जयशंकरसँग वार्ता गर्नेछन् । वाङ नेतृत्वको चिनियाँ टोली सोमबारदेखि पाकिस्तान भ्रमणमा थियो । पाकिस्तानबाट वाङले अघोषित भ्रमणमा बिहीबार अफगानिस्तान पुगेर तालिबान अधिकारीसँग भेट गरेका थिए । उनी काबुलबाट सिधै नयाँ दिल्ली उत्रिएका छन् ।
यस्तो छ कार्यक्रम
चिनियाँ विदेशमन्त्री वाङ नेपाल आएको दिन शुक्रबार साँझ कुनै पनि उच्चस्तरीय भेटवार्ता हुने छैन । उनले आएलगत्तै काठमाडौँस्थित चिनियाँ राजदूत होउ यान्छी र दूतावासका अधिकारीसँग ब्रिफिङ लिनेछन् । शनिबार बिहान १० बजे परराष्ट्रमन्त्री डा. खड्कासँग वाङले दुई पक्षीय भेटवार्ता गर्नेछन् । खड्काले वाङलाई दिवाभोज दिने कार्यक्रम छ । त्यही समय नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ ।
शनिबार दिउँसो नै वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट्ने छन् । आइतबार बिहान ९ बजे वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पालैपालो भेट्नेछन् । आइतबार दिउँसो ३ बजे उनी बेइजिङ उड्ने कार्यक्रम छ ।
सत्यपाटी । काठमाडौं ।