सूचनाको शक्ति - The Power Of Information

        

सातै प्रदेशमा आक्रामक विस्तार हुँदै होटल ‘द सोल्टी’

नेपालको चर्चित पाँचतारे होटल ‘द सोल्टी’ अब सातवटै प्रदेशमा खुल्दैछ । यसअघि नै नेपालगन्जमा पुगिसकेको सोल्टी होटल सबै प्रदेशको मुख्य सहरमा विस्तार हुने भएको हो । वि.सं. २०७४ सालमै लुम्बिनी प्रदेशको नेपालगन्जमा सोल्टीको रिसोर्ट होटल सञ्चालनमा आइसकेको छ ।

जहाँ स्पा र स्विमिङ पुलसहितको ८१ वटा कोठा भएको रिसोर्ट छ । त्यस समयमा ५५ करोड रुपैयाँ लागतको रिसोर्ट निर्माण भएको थियो । यस होटलले भारतीय पर्यटकलाई केन्द्रित गरी आफ्नो सेवा प्रदान गर्दै आएको छ । यसबाहेक अब गण्डकी प्रदेशको पोखरास्थित खापुण्डीमा समेत चारतारे सोल्टी होटल सञ्चालनमा ल्याउने तयारी भएको छ ।

त्यसको अलावा अन्य प्रदेशमा समेत होटल सञ्चालनको लागि जग्गाको प्रबन्धको काम भइरहेको सोल्टी होटलका एक सञ्चालकले जानकारी दिए । त्यस्तै सोल्टीकै व्यवस्थापन रहने गरी प्रदेश १ को इटहरीमा पनि सोल्टी वेस्टेन्ड होटल सञ्चालनमा आउँदैछ । भीम पौडेल तथा बलराम आचार्यले खडा गरेको हाइ एण्ड होटल कम्पनीले यस होटलमा प्रमुख लगानी गरेको छ ।

क्यासिनोसहित यो होटल वैशाखको सुरुदेखि नै सञ्चालन हुने बताइएको छ । यो होटलमा कुल ९० वटा कोठा छ । होटलमा एउटा प्रेसिडेन्सियल सुइट, आठवटा सुइट, १२ वटा एक्जुक्युटिभ, २२ वटा डिलक्स र ४७ वटा स्ट्यान्डर्ड रुम रहेका छन् । दुईवटा ब्यांक्वेट, तीन वटा सेमिनार हल, स्पा, जिम, रेष्टुरेन्ट, लाउन्ज रहेको यो होटल १ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण भएको हो ।

यसका साथै सोल्टी होटलले पूर्वी तराईलाई केन्द्रित गरेर आफ्नै लगानीमा नयाँ होटल सञ्चालन गर्ने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा समेत होटल सञ्चालन गर्ने तयारी गरिरहेको छ । त्यसको लागि जग्गा प्रबन्ध गरिरहेको होटलका ती सञ्चालक बताउँछन् ।

उनले भने, ‘नेपाल विश्वकै पर्यटक आकर्षण गराउन सक्ने मुलुक भए पनि भारतीय पर्यटकहरुलाई सजिलै ल्याउन सकिने देखिन्छ । उनीहरुलाई नै केन्द्रित गरी हाम्रो बिजनेस योजना अघि सारेका छौँ । हेरौँ कस्तो हुन्छ ।’

कसले गर्दैछ लगानी ?

आक्रामक रुपमा होटल विस्तारको योजनासहित अघि बढेको सोल्टी होटलले लगानी समेत जुटाएको छ । त्यसको लागि होटलको मुख्य लगानीकर्ता सोल्टी इन्स इन्टरप्राइजेज प्रालिले लगानी थप्ने तयारी गरेको छ । यो कम्पनी पूर्वराजा ज्ञानेन्द्र शाह समूहको हो । होटलमा यो समूहको करिब ५० प्रतिशत लगानी छ ।

१० प्रतिशत लगानी रहेको हङकङको होलिडे इन्स इभेष्टमेन्ट कम्पनी बाहिर निस्किएपछि त्यसको सेयर समेत पूर्वराजा समूहले खरिद गरेको थियो । साढे ७२ करोड रुपैयाँमा उक्त सेयर खरिदसँगै यो समूहको लगानी करिब ५० प्रतिशत पुगेको थियो । होटलमा ४९ दशमलव ५७ प्रतिशत सेयर स्वामित्व पुर्याएको पूर्वराजा समूहले पुनः लगानी थप गर्न लागेको होटल स्रोतले बतायो ।

बाँकी लगानीकर्तामा भने वायुसेवा निगम र सर्वसाधारण रहेका छन् । सोल्टी होटलमा निगमको १२ दशमलव २६ प्रतिशत र बाँकी सर्वसाधारणको लगानी छ । होटलका एक सञ्चालक समिति सदस्यका अनुसार अब पुनः लगानी थप गरेर सोल्टी होटल सातै प्रदेशमा लैजाने तयारी गरिएको हो । ती सञ्चालकले भने, ‘त्यसमा मुख्य लगानी थप्ने भनेको सोल्टी इन्स इन्टरप्राइजेज प्रालिले नै हो, अन्यको पनि सहभागिता भने हुनेछ ।’

नेपालको पहिलो पाँचतारे होटल सोल्टीको वित्तीय विवरण पनि निकै सबल छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार होटलले ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कोरोना महामारीसँगै भएको बन्दाबन्दीको ठूलो असर समग्र होटल क्षेत्रमा देखिँदा गत वर्ष यही अवधिमा सोल्टी १ करोड ५१ लाख रुपैयाँ नोक्सानीमा थियो ।

यो वर्ष भने विस्तारै होटल क्षेत्रको आम्दानीमा सुधार आइरहेको छ । सोल्टीको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको रिजर्भ कोषमा ६३ करोड ८६ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ५८ पैसा र प्रतिसेयर नेटवर्थ भने १७ रुपैयाँ ७८ पैसा रहेको वित्तीय विवरणले देखाएको छ । १२ एकड जमिनमा फैलिएको सोल्टी होटल सन् १९६५ मा काठमाडौंमा स्थापना भएको थियो ।

पाँचतारे विलासी होटलको उद्घाटन सन् १९६६ मा तत्कालीन राजा महेन्द्र शाहले गरेका थिए । स्थापनाकालदेखि नै सोल्टी होटलले आफूलाई नेपालमा विलासिता र आतिथ्यको पर्याय बनाउँदै आएको छ । स्थापनाकालमै १०४ वटा कोठाहरूबाट सुरु भएको सोल्टीमा काठमाडौंमा हाल २ सय ८२ विलासी अतिथि कोठाहरू छन् भने सात ‘रोयल भीभीआईपी सुइटहरू’ उपलब्ध छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार ०८:००