दाङ प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १५ का २८ वर्षीय विक्रम चौधरी, घोराही-१७ का २५ वर्षीय सुनिल विक र घोराही–१४ का २१ वर्षीय सुशील एरी रहेका छन्।
उनीहरूको साथबाट १ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
उनीहरूलाई बुधबार बेलुका ६ बजेतिर जिल्ला अदालतनजिकै रहेको पार्वती रेष्टुरेण्ट नास्ता पसलबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले रेष्टुरेण्टको क्याबिनमा शंकास्पद अवस्थामा बसिरहेका विक्रम चौधरीको साथबाट उक्त परिमाणमा ब्राउन सुगर बरामद भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए।
विक्रमले लगाएको पाइन्टको गोजीबाट १६ पुरिया ब्राउन सुगर बरामद भएको र आवश्यक कानुनी कारबाहीको प्रक्रिया थालिएको प्रहरीले जनाएको छ।
सत्यपाटी । दाङ ।