प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्रै उम्मेदवार टुंगो लगाउने प्रक्रिया अघि बढाएको छ ।
बुधबारदेखि काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । दुई दिने बैठक समापनपछि विभिन्न निर्णयबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तल्ला कमिटीलाई चैत मसान्तभित्रै उम्मेदवार सिफारिस गरिसक्न भनिएको बताए ।
‘तल्ला कमिटीहरुले स्थानीय तह निर्वाचनका लागि मापदण्डसहित चैत मसान्तभित्र उम्मेदवार सिफारिस गरिसक्नुपर्ने छ,’ बैठकपछि रिजालले भने, ‘वडाले पालिकालाई, पालिकाले जिल्लालाई, जिल्लाले प्रदेश, प्रदेशले केन्द्रलाई उम्मेदवार सिफारिसको काम चैत मसान्तभित्रै गरिसक्नुपर्नेछ ।’
रिजालका अनुसार वडादेखि महानगरसम्म सबै तहका लागि कम्तीमा एकजना महिलासहित तीनजनाको नाम सिफारिस निर्देशन दिइएको छ । ‘एकजना महिला अनिवार्य हुनुपर्नेछ । बीचको कमिटीले पनि आफ्नोतर्फबाट नाम राखेर सिफारिस गर्न सक्नेछ,’ उनले भने, ’चैत मसान्तभित्र आइसकेका सिफारिसलाई माथिल्ला कमिटीले आवश्यक परामर्श र छलफलपछि निर्णय लिनेछ ।’
सत्यपाटी । काठमाडौं ।