सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

‘स्मृति’का पाँच मुक्तक

मुक्तक – एक

प्रणय दिवसको शुभकामना, भन्न पर्दैन के माया
माया गर्छु भन्नलाई शुभदिन, गन्न पर्दैन के माया
तिमी ढुकढुकी बनेर साथमा साथ निभाउ अथाह
प्रेम दिन्छु देखावटी प्रेमजोडी, बन्न पर्दैन के माया ।।

मुक्तक – दुई

पर्ख आउँछु जुनेलीमा भनी जानेले बिर्सिएछन्
तिम्रै हुँ सयौं जुनी कसम नै खानेले बिर्सिएछन्
झुटो पिरतीको खेल किन खेल्छन् मान्छे कुन्नी
बाचा गरेर आफ्नो त मुटु नै लानेले बिर्सिएछन् ।।

मुक्तक – तीन

जताततै आजकल माहोल तातिएको छ
झर्केर बोल्नेको पनि बोली साटिएको छ
भन्छन् मेला लाग्यो आश्वासनको यत्रतत्र
कसले देख्यो दुखीको चोली फाटिएको छ ? ।।

मुक्तक – चार

नारी तिमीले सुन्दर इतिहास लेख्नुछ
ब्राह्मणको एकएक दुस्साहस देख्नुछ
आत्मरक्षा र अस्तित्वको लडाइँ लडेर
विश्वका सम्पूर्ण नारीको सहास बन्नुछ ।।

मुक्तक – पाँच

बर्षा बनेर यो झरीमा आइदिन्छौं तिमी
लुट्पुटिदै मिठो माया लाइदिन्छौं तिमी
मिल्किन्छ सगरसङ्गै जब बर्षाको झरी
याद बनी यो मुटु धड्काइदिन्छौं तिमी ।।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार १६:०४