सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

बाँकेमा पहिलो पटक कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य

कोरोना महामारी शुरु भएको करिब दुई वर्षपछि बुधवार पहिलो पटक बाँकेमा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । २०७७ साल बैशाख १९ गते बाँकेमा कोरोनाको पहिला संक्रमित फेला परेका थिए, त्यसपछि संक्रमित थपिने र घट्नेक्रम निरन्तर चलिरहेको थियो ।

सक्रिय संक्रमित संख्या शुन्यमा पुगेसँगै भेरी अस्पतालमा रहेको कोभिड आइसोलेसन वार्ड रित्तिएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए । दुई वर्षको अवधीमा पहिलो पटक बाँके संक्रमित शुन्य भएको हो । करिव दुई वर्षको अवधिमा बाँकेमा २१ हजार ३२७ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जनाए ।

फोकल पर्सन ओलीले तीमध्ये २० हजार ९७५ जना निको भएको र ३५२ जनाले ज्यान गुमाएको जानकारी दिए । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले सबैभन्दा धेरै मानवीय क्षती दोस्रो लहरमा भएको र तेस्रो लहरमा संक्रमित थपिए पनि मानवीय क्षती भने निकै न्यून भएको जनाएको छ । सक्रिय संक्रमित शुन्यमा झरेपछि बाँके कोरोनामुक्त हुने चरणमा पुगेको छ ।

पहिलो र दोस्रो चरणमा बाँके कोरोनाको ‘हटस्पट’ बनेको फोकल पर्सन ओलीले बताए । भारतसँगको खुला सीमानाकाका कारण भारतबाट फर्किएकाबाट संक्रमण तीब्र गतिमा फैलिएकाले बाँके संक्रमणको चपेटामा परेको थियो । भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा ड्युटी गरिरहनु भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुई वर्षपछि हाल आएर पूर्णरुपमा फुर्सद मिलेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार १४:५५