सूचनाको शक्ति - The Power Of Information

        

विश्व क्षयरोग दिवस मनाइँदै

नेपालमा क्षयरोगबाट बर्सेनि १६ हजारको मृत्यु हुने गरेकाे तथ्यांक

नियन्त्रणका लागि ८० करोड विनियोजन

‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस आज नेपालमा पनि मनाइँदै छ ।

दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री शेरबहादुर देउवाले क्षयरोग लाग्न नदिनेतर्फ र लागिहालेमा सहज उपरचारको व्यवस्था गर्नेतर्फ सरकारले ध्यान दिने बताएका छन् ।

सन् २०२१ को अक्टोबरमा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको दक्षिणपूर्वी एसियाका स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालले क्षयरोग मुक्त नेपाल बनाउने प्रतिबद्धता जनाएको थियो ।

सो अनुसार स्थानीय सरकारको नेतृत्व र स्वामित्वमा २५ वटा स्थानीय तहमा चालु आर्थिक वर्षबाट क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यान्वयनमा आएको थियो ।

आगामी आर्थिक वर्षमा अरु थप स्थानीय तहमा पनि यो अभियान लागु गर्ने र आगामी चार वर्षभित्र देशका सबै स्थानीय तहमा अभियान कार्यान्वयनमा ल्याउने प्रधानमन्त्रीको भनाइ छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हरेक वर्ष करिब ६९ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । तर ४० हजार बिरामी सम्पर्कबाहिर रहेको केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुर बताउँछन् ।

राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४ ले नेपालमा नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोगी रहेको पत्ता लागेको थियो । यो रोगबाट नेपालमा बर्सेनि १६ हजार जनाको ज्यान जाने गरेको सर्वेक्षणबाट पत्ता लागेको थियो ।

सरकारले आर्थिक वर्ष २०७८/७९ मा क्षयरोग नियन्त्रणका लागि ८० करोड रुपैयाँ विनियोजन गरेको छ । क्षयरोगको औषधि सरकारले निःशुल्क उपलब्ध गराउँछ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार ०९:०२