सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

विप्लवको पार्टी नै ‘अवैध’, निर्वाचनबारे ‘दुई धार’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चुनावमा जाने–नजाने भन्नेबारे दुई धार देखिएको छ । निर्वाचनमा जानुपर्ने लाइनमा पार्टीका महासचिवसमेत रहेका विप्लव र अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को समूह देखिएको छ ।

पार्टीले निर्वाचनमा जान नहुने लाइनमा नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र अर्का नेता धर्मेन्द्र बास्तोला देखिएका छन् । विप्लव नेतृत्वको पार्टीको केन्द्रीय समिति बैठक कपिलवस्तुमा जारी छ । सोही बैठकमा विप्लवले चुनाव उपयोग गरेर जाने राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमाथि छलफल जारी छ ।

केन्द्रीय समिति वैठकअघि विप्लवसहित पाँच शीर्ष नेताहरुको बैठक काठमाडौंमा बसेको थियो । जसलाई विप्लव समूहले ‘हेडक्वार्टर’ भन्दै आएको छ । सो बैठकमा विप्लवले निर्वाचन जाने प्रस्ताव गरेका थिए । बैठकमा विप्लवको प्रस्तावलाई प्रकाण्डले समर्थन गरेका थिए भने ओली र बास्तोलाले प्रस्तावको विरोध गरेका थिए ।

सन्तोष बुढामगर भने तटस्थ बसेका छन् । ‘हेडक्वार्टर’बाट आफ्नो प्रस्ताव पास नभएपछि विप्लवले सोही प्रस्तावलाई केन्द्रीय समितिमा पेस गरेका हुन् । जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले निर्वाचनमा जान नहुनेमा आफ्नो मत राखेका छन् । एक नेताका अनुसार अधिकांश नेताहरुले चुनावलाई उपयोग गर्ने अवस्था आएमा पार्टी संसदीय प्रणालीमा सहभागी भएको अर्थ लाग्ने बताए ।

ती नेताले भने, ‘पार्टीले निर्वाचनको नीति पास गरे पार्टीमा विभाजनसम्मको अवस्था आउन सक्छ । अरुलाई संसदीय दल भन्ने अनि आफैँ त्यही बाटोमा जाने भए अहिलेसम्म किन यस्तो नाटक गरेको त ? यसले सही दिशामा पार्टीलाई लैजान्न ।’ विप्लव नेतृत्वको पार्टी निर्वाचन आयोगमा समेत दर्ता छैन । निर्वाचन आयोगमा दल दर्ताको समय पनि सकिएको छ ।

यस्तो विप्लवको पार्टी चुनाव लड्दा सो पार्टीका उमेदवारको हैसियत स्वतन्त्र उमेदवार वा अन्य दलहरुसँग सहकार्य गर्नुपर्ने छ । दुई वर्ष सशस्त्र गतिविधि गरेको सो पार्टीले विभिन्न एजेन्डामा जनमत संग्रहको माग गर्दै आएको छ । पछिल्लो समय पार्टीभित्र अन्तरसंघर्ष चर्किँदै गएको छ । पार्टी निर्वाचनमा गए केही नेताहरु पार्टीबाट अलग्गिने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार १३:३७