सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

मन्त्रीमण्डल पुनःगठन गर्दै देउवा, हट्दै अर्थमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल पुनर्गठनको तयारी थालेका छन् । लोकतान्त्रिक समाजवादीका नेताहरूलाई पनि गठबन्धनमा ल्याएर सरकारमा सहभागी गराउन देउवाले छलफल गरिरहेका छन् । लोकतान्त्रिक समाजवादीका अतिरिक्त अन्य केही मन्त्रीहरूको पोर्टफोलियो परिवर्तन गर्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

अर्थतन्त्रबारे ज्ञान नभएको र प्रशासनमा ‘बुलडोज’ गरेको भन्दै देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई हटाउने र त्यसको सट्टामा माओवादीलाई परराष्ट्र मन्त्रालय वा सञ्चार मन्त्रालय दिने तयारी गरेका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आफू अर्थमन्त्री भएर अनुभव हासिल गरिसकेको र बजेट ल्याउन नपाएकाले अर्थमन्त्रीको जिम्मेवारी दिए चुनावी बजेटको तयारीमा लाग्ने प्रधानमन्त्रीलाई बताएका छन् ।

परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालय साटिने भएकाले डा. नारायण खड्कालाई नै अर्थतिर सार्ने चर्चा पनि त्यत्तिकै छ । यसबाहेक लामो समयदेखि उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय तथा रक्षा मन्त्रालय मन्त्रीविहीन रहँदै आएका छन् । यसअघि देउवा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँगको सहमती अनुसार कांग्रेस नेता राजन केसीलाई उद्योग मन्त्री बनाउन राजी भएका थिए ।

फेरि प्रकाशमान सिंहको कोटामा स्वर्गीय गिरिजाप्रसाद कोइराला पुत्री सुजाताले मन्त्री बन्ने रहर गरेपछि सिंहलाई देउवाले यकिन गरेर एउटा नाम दिन भनेका थिए । सुजाता यसअघि नै उपप्रधानमन्त्री भैसकेकाले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री बनाउनुपर्ने भएपछि देउवा आफैं पछि हटेका थिए । उद्योगमा देउवा परिवारसँग अत्यन्त निकट रहेका प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पनि रहर गरिरहेका छन् ।

देउवासँग उनले प्रधानमन्त्री कार्यालयमा जिम्मेवारीविहीन जस्तो भएको र काम गरेर देखाउने ठाउँ दिन भनेका थिए । उनलाई देउवाले श्रेष्ठसहित योजना आयोगको उपाध्यक्ष र मुख्यसचिवको टोली बनाएर अर्थतन्त्रका विद्यमान समस्या समाधानको उपाय दिन भन्दै उनलाई जिम्मेवारी दिएका थिए ।

स्वास्थ्य राज्यमन्त्रीबाट प्रधानमन्त्री कार्यालयमा सार्दा श्रेष्ठले आफू बाहिरिन चाहेको बताएका थिए, तर देउवाले महाधिवेशनमा केन्द्रीय सदस्य जिते पूर्ण जिम्मेवारीसहितको मन्त्री बनाउने भन्दै थामथुम पारेका थिए । देउवा निकट एक नेताका अनुसार, देउवाले उद्योग र रक्षा मन्त्रालय देखाएर धेरैलाई अलमल्याएका छन् ।

महाधिवेशनमा यी मन्त्रालयको लोभ देखाएर उनले केही नेताबाट सहयोग पनि लिए । अहिले पार्टीभित्रकालाई मन्त्री बनाउनेभन्दा पनि लोकतान्त्रिक समाजवादीलाई एमालेसँग मिल्न नदिन उनीहरूलाई सरकारमा सहभागी हुने रेडिमेड उपाय देउवाले देखाइरहेका छन् ।

उनले महन्थ ठाकुरलाई रक्षासहित उपप्रधानमन्त्री वा राजेन्द्र महतोलाई उपप्रधानसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिन तयार रहेको बताएको लोकतान्त्रिक समाजवादी पार्टीका एक नेताले बताए । सत्ता समीकरणमा माहिर देउवाले २०५२ सालदेखि नै गठबन्धन र संसदीय खेलको अभ्यासमा आफूलाई पोख्त राख्दै आइरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि चाँडै मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने संकेत गरेका छन् । उनले मन्त्रीहरूको जिम्मेवारी हेरफेरमा नाम नै तोकेर गठबन्धनमा कुरा नभएपनि प्रधानमन्त्रीले लोकतान्त्रिक समाजवादीलाई गठबन्धनमा ल्याउन निरन्तर छलफल गरिरहेको दाहालले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार १३:२९