कोभिडको पहिलो र दोस्रो लहरमा भेरी अस्पतालका चिकित्सक, नर्ससँगै स्वास्थ्यकर्मीले गरेको सेवाको उच्च मूल्यांकन भएको त छ नै, सरकारले पनि अस्पताललाई देशकै उत्कृष्ट अस्पताल घोषित गरेको छ ।
१९४२ सालमा धीरशमशेरका छोरा वीरशमशेरका हातमा शासन सत्ताको बागडोर पुग्यो । श्री ३ को उपाधि प्राप्त गरेसँगै वीरशमशेरले राजा र ‘प्रजा’लाई खुसी तुल्याउँदै शासनसत्ता सञ्चालन गर्न विभिन्न रणनीति बनाउँदै थिए । सत्तामा पुगेको पाँच वर्षपछि १९४७ मा धीरशमशेरको ध्यान पश्चिम नेपालको नेपालगन्जमा पर्यो ।
पश्चिम तराईको सीमावर्ती क्षेत्रका जनतालाई औषधोपचार गर्न भारत जान नपरोस् भन्ने उनको चाहना थियो । सामान्य अवस्थाका बिरामीले समेत उपचार नपाइरहेका बेला नेपालगन्जमा अस्पताल निर्माण गर्ने अवधारणा अघि सारे । सानो घाउचोट लागेका मानिसलाई मल्हमपट्टी लगाउने उद्देश्यले पृथ्वी–वीर डिस्पेन्सरी स्थापना गरे ।
त्यही डिस्पेन्सरी अर्थात् भेरी अस्पताल अहिले देशकै सर्वोत्कृष्ट अस्पताल बनेको छ । श्री ३ जंगबहादुर राणाले भारतको लखनऊमा भएको विद्रोह अर्थात् गदर दबाउन इस्ट इन्डिया कम्पनीलाई मद्दत गरेबापत फिर्ता पाएको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको प्रमुख केन्द्र अर्थात् सामरिक महत्त्वको सहर ठानेर श्री ३ वीरशमशेरले पृथ्वी–वीर अस्पतालको जग बसालेका थिए ।
राजनीति र स्वास्थ्य दुई फरक रणनीतिक उद्देश्यसाथ स्थापना गरिएको भेरी अस्पतालको ऐतिहासिक महत्त्वको छ । २००७ सालमा व्यवस्था परिवर्तन भयो । प्रजातन्त्र आयो । व्यवस्था फेरिएसँगै २०१६ सालमा पृथ्वी–वीर अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृहमा परिणत भयो । २०१७ सालमा फेरि व्यवस्था परिवर्तन भयो ।
राजा महेन्द्रले ‘देशको शासन व्यवस्था सञ्चालनका लागि स्वस्थ हुनु अनिवार्य छ,’ भन्दै २०२२ सालमा प्रसूति गृहलाई भेरी अञ्चल अस्पतालमा परिणत गरे । बिरामीको चाप बढेसँगै २०४३ सालमा भेरी अस्पताललाई १०० शय्या क्षमताको बनाइयो । २०६१ सालमा पुनः २०० शय्या क्षमताको अनुमति सरकारले दियो ।
तर, आर्थिक अभावका कारण २०० शय्या सञ्चालन गर्न नसकिएकाले हालसम्म १ सय ५० शय्या सञ्चालनमा छन् । तर, ५०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने घोषणा गर्दै केन्द्रीय सरकार मातहत रहने गरी अञ्चल हटाएर भेरी अस्पताल नामकरण गरिनुका साथै सुविधा सम्पन्न सरकारी अस्पतालमा रूपान्तरण गर्ने योजना कार्यान्वयन प्रक्रियामा छ ।
भौतिक पूर्वाधार निर्माण प्रक्रिया सुरु भइसकेको छ । ‘निजीस्तरका अति महँगा अस्पतालले भन्दा सस्तो र राम्रो उपचार दिँदै आएको सरकारी अस्पतालको पूरै स्वरूप परिवर्तन हुँदैछ,’ अस्पतालका डा. प्रकाशबहादुर थापाले भने । चिकित्सक, नर्ससहित ५१० जना कर्मचारी रहेको अस्पतालमा बिरामी तथा सेवाग्राहीको बढ्दो चापका आधारमा अझै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी भने न्यून छन् ।
१३१ वर्ष पुरानो अस्पताल भएर पनि अपेक्षित विकास भएको छैन । तर पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अर्थात् प्रेषण केन्द्र भएकाले यहाँ वार्षिक १ लाखभन्दा बढी मानिसको उपचार हुँदै आएको छ । कोभिडको पहिलो र दोस्रो लहरमा भेरी अस्पतालका चिकित्सक, नर्ससँगै स्वास्थ्यकर्मीले गरेको सेवाको उच्च मूल्यांकन भएको त छ नै, सरकारले पनि अस्पताललाई देशकै उत्कृष्ट अस्पताल घोषित गरेको छ ।
सरकारी अस्पतालमा गरिएको लगानीको महत्त्व स्वास्थ्य संकटका बेला धेरैले महसुस गरे । त्यसैले पनि भेरी अस्पतालप्रति तीन तहकै सरकारले चासो दिन थालेकाले पनि परिवर्तनको सम्भावना देखापरेको हो । हुन त कार्डियोथोरासिक, न्युरो मेडिसिन, पिडिया सर्जरी, न्युरो सर्जरी, हेमोडाइलसिस, आईसीयू र एनआईसीयू, ग्यास्ट्रोइट्रोलोजिस्ट सर्जरी, ईएनटी सर्जरी र सोसियो–साइको काउन्सिलिङ सेवा विस्तार गर्नुपर्ने देखिएको छ ।
१३१ वर्ष पुरानो अस्पताल भएर पनि अपेक्षित विकास भएको छैन । तर पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अर्थात् प्रेषण केन्द्र भएकाले यहाँ वार्षिक १ लाखभन्दा बढी मानिसको उपचार हुँदै आएको छ ।
एक वर्षभित्र कुनै दुई विषयमा प्रााविधिक शिक्षातर्फको पढाइ सुचारु गर्ने लक्ष्य अस्पतालको छ । सरकारीस्तरका अस्पतालको सुधार र सेवा विस्तारले नेपालगन्जमा निजी क्षेत्रलाई पनि प्रेरित गर्दै आएको देखिएको छ । यहाँको सबैभन्दा पुरानो निजी अस्पतालका रूपमा नेपालगन्ज मेडिकल कलेज रहेको छ, जुन २०५३ सालमा सञ्चालनमा आएको हो ।
७७५ शय्याको मेडिकल कलेजमा २५ वर्षदेखि एमबीबीएस अध्ययन÷अध्यापन गराउन थालेपछि यसको चर्चा चुलिएको हो । अहिलेसम्म उक्त कलेजबाट २ हजार १३९ जना एमबीबीएस उत्तीर्ण गरी चिकित्सक बनेका छन् । २१८ जनाले एमडी÷एमएस उत्तीर्ण गरेका छन् । स्टाफ नर्सहरूको उत्पादन पनि उल्लेखनीय छ ।
‘नेपाली लगानीको पहिलो कलेज हो । कार्डोलोजीबाहेक सबै सेवा उपलब्ध गराउँदै आएका छौं,’ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा.नितेश कनोडियाले भने, ‘अरू पनि धेरै निजी क्षेत्रका अस्पताल खुल्न थालेकाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तीनवटै प्रदेशको मेडिकल हब अहिले नेपालगन्ज बन्न पुगेको छ ।’
उक्त कलेजका शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा पनि छन् । चिसापानीमा कलेजको शाखा छ । करिब १ हजार ४०० कर्मचारी कार्यरत छन् । ‘तीनवटै प्रदेशको रेफरल सेन्टर हो,’ कलेजका प्रशासन प्रमुख कुमार अधिकारीले भने, ‘हामीले व्यावसायिक उद्देश्य मात्र लिएका छैनौं । सेवामूलक भावना पनि उत्तिकै छ । विपन्न र गरिब बिरामीलाई निःशुल्क सेवा दिँदै आएका छौं ।’
यहाँ पछिल्लो पटक सञ्चालनमा आएको १५ शय्याको निजी क्षेत्रको अर्को अस्पताल हो, लाइफलाइन जनरल हस्पिटल प्रालि । ‘निजी क्षेत्रका अस्पताल खुल्ने क्रम बढेपछि सेवा विस्तारसँगै प्रतिस्पर्धा पनि बढेको छ,’ मिर्गौलाका बिरामीको उपचारमा व्यस्त फिजिसियन डा. पारस श्रेष्ठले भने, ‘हाम्रो ध्यान त कसरी गुणस्तरीय सेवा दिने भन्नेमै केन्द्रित छ ।’
डाक्टर र नर्स उत्पादनमा नेपालगन्जले धेरै छलाङ मारेको अर्का फिजिसियन डा.संकेत रिसालले बताए । ‘यहाँ चिकित्सकीय सेवामा पनि वृद्धि भएको छ,’ उनले भने, ‘अब स्थानीय, प्रदेश र संघीय सरकारले मेडिकल हबलाई मूर्तरूप दिन नीतिगत योजना तय गर्नुपर्छ ।’ अहिले पनि नेपालगन्जका चिकित्सकले उपचारमा राम्रो सफलता प्राप्त गर्दै आएको डा.रिसालको दाबी छ ।
‘५० वर्षअघिको तुलनामा अहिले नेपालगन्जमा मेडिकल लाइन स्वर्णिम युगमा प्रवेश गरेको छ,’ उनले भने । भेरी अस्पताल परिसर नजिकै सरकारीस्तरको नेपालगन्ज नर्सिङ क्याम्पस रहेकाले पनि नर्स तथा स्टाफ नर्स उत्पादनमा नेपालगन्ज अग्रणी देखिएको छ । नेपालगन्ज उपमहानगरमा निजी क्षेत्रका क्लिनिक ५६ वटा छन् ।
डाइग्नोस्टिक सेन्टर ५३ र अस्पताल तथा पोलिक्लिनिक २७ वटा छन् । अर्को बजार कोहलपुरमा पनि निजी क्षेत्रका अस्पताल खुल्दै छन् । खजुराको सरकारीस्तरको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल जनस्तरको सहयोगमा स्थापना गरिएको ठूलो अस्पताल हो । ‘मुठी दान संकलन गरी क्यान्सरपीडितको उपचार गर्ने भरपर्दो अस्पताल बनेको छ,’ क्यान्सर अस्पताल विकास समितिका अस्पतालका अध्यक्ष किशोर थापाले भने ।
नेपालगन्ज उपमहानगरले नेपालगन्जलाई मेडिकल हब बनाउने योजनाअनुरूप मेडिकल पर्यटनको अवधारणा पनि अघि सारेको छ । ‘कुन रोगका बिरामीको उपचार गर्ने कुन चिकित्सक हुन् र उनीहरूसँग परामर्श गर्न कुन फोन नम्बरमा सम्पर्क गर्ने भनेर सबैलाई जानकारी दिन समिति नै बनाएका छौं,’ नगर प्रमुख डा.धवलशमशेर राणाले भने, ‘नेपालगन्जलाई मेडिकल हब बनाउने मेरो सपना साकार हुँदै गएको छ ।’
– ईकान्तिपुरबाट
सत्यपाटी । बाँके ।