सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचनको तयारीमा दल

स्थानीय तहको निर्वाचनको तयारीमा बाँके जिल्लाका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरू जुटेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक भएपछि प्रमुख राजनीतिक दलमा आबद्ध नेता कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार बन्न चाहने सबैले निर्वाचनको तयारी सुरु गरेका हुन् ।

नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा र राप्रपा नेपालले टोल टोलमा समिति गठन गरी उम्मेदवार छनोटका लागि जनताको सुझाव लिइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरू पनि जनताको घरघरमा पुग्न थालेका छन् । नेपाली काँग्रेसले ‘घरघर जाऔँ’ अभियान सुरु गरेर हरेक जनताको घरमा पुगेर सुझाव सङ्कलन र प्रचारप्रसारसमेत सुरु गरिसकेको काँग्रेस बाँकेका सभापति नारायण गौडेलले बताए ।

उनले ‘घरघर जाऔँ’ अभियानले टोलटोलमा निर्वाचनको माहोल बनाएको र सबै नेता कार्यकर्ताको सक्रियता बढेको बताए । गाउँगाउँमा जनताले राम्रो स्वागत गरिरहेको पनि सभापति गौडेलले बताए ।

नेकपा माओवादी केन्द्र बाँकेले पनि टोलटोलमा सङ्गठन निर्माण र जनतासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवारका बारेमा पनि सुझाव लिएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आईपी खरेलले बताए ।

उनले पार्टीभित्र विभिन्न पदका उम्मेदवार आकाङ्क्षी धेरै रहेकोले छनोटका लागि मापदण्ड तयार गरी जनताको घरघरमा पुग्ने काम भइरहेको बताए । नेकपा एमालेका अध्यक्ष किस्मतकुमार कक्षपतिले आफूहरूले निर्वाचनको तयारी, उम्मेदवार छनोट र सङ्गठन निर्माणलाई प्राथमिकतामा राखेर गाउँगाउँमा पुगिरहेको बताए ।

जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राईले जसपाले अधिकांश उम्मेदवार टुङ्गो लगाएर उनीहरूलाई जनताका माझमा पठाइसकेको बताए । सबै दल टोलटोलमा जान थालेपछि निर्वाचनको माहोल तातिँदै गएको बताए ।

नेकपा एकीकृत समाजवादी बाँकेका अध्यक्ष इन्द्रबहादुर थापाले समाजवादीले पनि निर्वाचन लक्षित अभियानलाई तीव्रता दिँदै जनताको घर दैलोमा पुगेर एजेन्डा पुर्याइरहेको बताए । निर्वाचनको मिति नजिकिँदै जाँदा स्थानीय नेता कार्यकर्ता एउटा दल छाडेर अर्को दलमा जाने क्रम पनि बढेको छ ।

हरेकजसो कार्यक्रममा पार्टी प्रवेशलाई प्रायः अनिवार्य रूपमा राखिने गरेको पाइएको छ । यस पटक स्वतन्त्र उम्मेदवार बन्ने चाहना धेरैले प्रकट गरेकाले स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरू धेरै हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार १५:४७