सूचनाको शक्ति - The Power Of Information

        

विकासमा राजनीति

‘पार्टी नमिल्दा’ सडक कालोपत्रे अधुरै, विकासमा जनप्रतिनिधिको मनपरी

१८ नम्बर वडामा वडाध्यक्षसहित वडा सदस्यहरु नेकपा एमाले निकट छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ कारकाँदोस्थित अमरनगर टोलमा छाडिएको अधुरो सडक ।

‘काम अधुरो छाडेपछि मैले फोन गर्दा वडाध्यक्षले उठाउनु भएन, वडा सदस्यले चाही पार्टी मिलेन भन्नुभयो, मैले अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता लिएको छैन, समाजसेवामै छु,’ अनिताले भनिन्, ‘यो बाटोको लागि धेरै दौडधुप गरेकी थिए, अहिले मेरो गेट अगाडी बाटोको काम अधुरो छाड्दा एकदमै नराम्रो लागेको छ ।’

नेपालगन्ज उपमहानगरपालिका १८ नम्बर वडा कार्यालयले कारकाँदोस्थित अमरनगर टोलमा दुई महिनाअघि झण्डै ३०० मिटर सडक कालोपत्रे गर्ने योजना अगाडी बढायो ।

वडा कार्यालयले सडक कालोपत्रे सुरु गर्नुअघि गत पुस ६ गते सार्वजनिक रुपमै सूचना जारी गरेर ‘सिद्धार्थ भ्यू होटलदेखि लग्दहवा गाउँ जोड्ने’ सडकको ८ मिटर मापदण्डभित्र पर्ने भौतिक संरचना हटाउन स्थानीयलाई अनुरोध गर्यो ।

सडक कालोपत्रे हुने भएपछि स्थानीय बासिन्दामा खुसीको सीमा नै रहेन । उनीहरुले वडा नम्बर १८ का वडाध्यक्ष दीपककुमार बर्मालाई औपचारिक कार्यक्रम गरेरै दोसल्ला ओढाएर सम्मान गरे । वडाले निर्माण कार्य अगाडी बढाउन थालेपछि तोकिएको मापदण्डका विषयमा विवाद बढ्यो ।

स्थानीयसँगको सहमति अनुसारपछि वडा कार्यालयले कतै साढे ५ मिटर, कतै ६ मिटर, कतै ७ मिटरमा चौडाईमा कालोपत्रे निर्माण कार्य अगाडी बढायो । सडकभित्र पर्ने विद्युत पोलसहित आवश्यक संरचना हटाउन टोल विकास समितिले वडालाई सहयोग गर्यो । स्थानीय बासिन्दाका अनुसार वडा कार्यालयले जब सडक निर्माण कार्य अगाडी बढायो, मापदण्ड कार्यान्वयन नै भएन ।

वडाले सडक कालोपत्रे निर्माणको काम अन्तिम चरणमा पुर्याउने क्रममा करिव २० मिटर बाटो अधुरै छाडियो । त्यसपछि स्थानीय बासिन्दा छांगाबाट खसेझै भए । वडाका जनप्रतिनिधिले ‘पार्टी नमिलेको’ भन्दै सडक कालोपत्रे अधुरो छाडिदिएको यहाँका स्थानीय बताउँछन् । वडाका जनप्रतिनिधिले राजनीतिक पूर्वाग्रह नै राखेर कालोपत्रेको काम अधुरो छाडेको स्थानीय बासिन्दा पिताम्बर चपाईले बताए ।

‘सडक कालोपत्रे बन्ने भएपछि वडाले जे भन्यो, त्यही कुरा मान्दै आयौं,’ उनले भने, ‘सडकको मापदण्डका विषयमा वडासँग बसेर सहमति गर्यौं, तर सहमति अनुसार मापदण्ड कार्यान्वयन भएन, हामीले २० हजार खर्च गरेर विद्युतका पोल सार्ने काम गर्यौं, अगाडी बाटो पिच बन्ने अन्तिम चरणमा छ, तर २० मिटर जति बाटो अधुरो छाडियो ।’

सडक कालोपत्रे बन्ने भएपछि टोलबासीका तर्फबाट वडाध्यक्ष बर्मालाई यसअघि दोसल्ला ओढाएर सम्मान गरे पनि अहिले पार्टी नमिल्दा कालोपत्रे अधुरो छाडिदिएको चपाईले बताए । १८ नम्बर वडामा वडाध्यक्षसहित वडा सदस्यहरु नेकपा एमाले निकट छन् । जनप्रतिनिधिले सडक कालोपत्रेमा राजनीतिक पूर्वाग्रह राखेको स्थानीय अनिता भण्डारीले सुनाइन् ।

सडक कालोपत्रे हुने भएपछि दुई महिनाअघि वडाध्यक्षलाई सम्मान गर्दै स्थानीय बासिन्दा ।

वडाबाट सडक कालोपत्रे गर्ने जिम्मा लिएको ठेकेदारले अचानक काम अधुरो छाडेपछि वडाध्यक्ष बर्मालाई फोन गर्दा उनको फोन नउठेको र वडा सदस्य दिग्विजय ढुंगानालाई फोन गर्दा उनले पार्टी नमिल्दा अधुरो छाडिएको प्रतिक्रिया आफूलाई दिएको उनले बताइन् ।

‘काम अधुरो छाडेपछि मैले फोन गर्दा वडाध्यक्षले उठाउनु भएन, वडा सदस्यले चाही पार्टी मिलेन भन्नुभयो, मैले अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता लिएको छैन, समाजसेवामै छु,’ अनिताले भनिन्, ‘यो बाटोको लागि धेरै दौडधुप गरेकी थिए, अहिले मेरो गेट अगाडी बाटोको काम अधुरो छाड्दा एकदमै नराम्रो लागेको छ ।’

अर्का स्थानाीय गुमबहादुर भुजेलले कालोपत्रे सडक अधुरो हुँदा वडाध्यक्ष बर्मालाई यसअघि सम्मान गरेको क्षण अहिले सम्झिरहेको बताए । ‘त्यतिबेला वडाध्यक्षलाई सम्मान गरेका थियौं, तर वडाध्यक्षले यतिसम्म पूर्वाग्रह राख्नुहुन्छ होला भनेर सोचेका थिएनौं ।’ वडाले नापजाँच गरेको बाटोलाई अधुरो छाड्दा दुःख लागेको उनले बताए ।

अमर नगर टोल विकास समितिका अध्यक्ष भगिरथ सिंह वडाले आफ्नै सहमति र प्रतिवद्धता विपरित करिव २० मिटर सडक कालोपत्रे अधुरो छाडेको बताए । ‘वडाले जे भन्यो त्यो कुरा मान्यौं, तर अन्तिममा आएर सडक अधुरो छाडिदियो, राम्रो बाटोमा झन् खाल्डो बनाईदियो,’ सिंहले भने ।

उक्त सडक कालोपत्रे योजना र बजेटका विषयमा पनि अनविज्ञ रहेको स्थानीय बासिन्दा बताउँछन् । उक्त योजनालाई वडाले कहाँबाट कति बजेट ल्याएर सम्पन्न गर्न लागेको हो? यसबारेमा जानकारी नभएको उनीहरुको भनाई छ ।

‘कहाँको बजेटबाट सडक कालोपत्रे बन्न लागेको हो, कति बजेटमा बन्दैछ, कुन ठेकेदारले बनाउँदैछ, यसबारेमा हामीलाई वडाले जानकारी दिएको छैन,’ स्थानीय चपाईले भने । नियम अनुसार कुनै पनि विकास योजना बनाउने क्रममा सार्वजनिक रुपमा साईन बोर्ड अनिवार्य राख्नुपर्छ । बोर्ड नराखेर निर्माण हुने योजनाको आर्थिक पारदर्शीतामाथि प्रश्न उठाइन्छ ।

नेपालगन्ज १८ का वडाध्यक्ष बर्मा भने स्थानीयले लगाएको आरोपमा सत्यता नभएको जिकिर गरे । ‘सडक निर्माण स्थलमा विद्युतको पोल हुँदा कालोपत्रे रोकिएको हो, अहिले विद्युतको पोल हटेको छ, मैले पटक पटक उहाँहरुलाई भन्दै आएको कुरा पनि हो,’ उनले भने, ‘अधुरो काम अब पूरा हुन्छ ।’ उक्त स्थानमा मापदण्ड अनुसार सडकको चौडाई नपुगेकाले प्राविधिकसँग समन्वय गरेर काम पूरा गर्ने आफ्नो योजना रहेको बर्माले सुनाए ।

सडक कालोपत्रे कति बजेटमा गरिदैछ भन्ने बारे तत्कालै जानकारी दिन नसकिने उनले बताए । यस्तै वडा सदस्य ढुंगानाले अधुरो कालोपत्रे पूरा गर्ने आश्वासन दिँदादिँदै पनि स्थानीय बासिन्दाले अनेक शंका–उपशंका गरेको बताए । ‘स्थानीय तहले गर्ने विकासमा कसैलाई काखा र कसैलाई पाखा गर्ने कुरो हुदैन,’ उनले भने, ‘पार्टी नमिल्दा काम रोकेको कुरा मैले कसैलाई भनेको छैन ।’ (नागरिक)

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार १४:५९