तिमी फूल्दै जानु ! कुसुमसरि मेरा प्रियवर ।
सुकेको वैलेको म त झरिसकेको पतकर ।।
नछोऊ भो घोच्ला छुन पनि छ साँच्चै अब डर ।
झरेका छेस्काको भर अब नहोला जति गर ।। (१)
नआऊ छेवैमा नसर वर जाऊ परपर ।
म डोरो छिन्नेको दिन पनि कहाँ सक्छु र भर ।।
न जागोस् त्यो इच्छा कठिन मुटुले त्यो प्रण गर ।
म भत्केको पाखो प्रियतम तिमी बीज न छर ।। (२)
धरित्रीझैं बन्दै सकस म सहूँ ! लाखन अरु ।
मलाई टेक्ने ती कति पनि नथाकून् पदहरू ।।
म छाती यो थापी हरकदममा साथ दिउँला ।
बगे आँखा मेरा टपटप टिपी चप्प पिउँला ।। (३)
तिमी दुख्दा मेरो अति करुण रुन्थ्यो मन पनि ।
सहेँ धर्ती बन्दै चसचस बिझेका तन पनि ।।
तिमी बत्तीजस्ता अपितु म खरानी चरणको ।
जलोस् काया मेरो खबर नपुगोस् यो मरणको ।। (४)
थियो साह्रै छोटो मिलन मनको प्रेमपथमा ।
म बाटामा हिँड्दा शशिमय परी राख रथमा ।।
नदेखाओस् नौलो रहर न त ढाँटोस् समयले ।
न ता घोचोस् पोलोस् दिल अब नरोओस् विगतले ।। (५)
नहोस् पीडा यौटै प्रियतम् नहोस् घाउ न ठुलो ।
भिजुन् आँखा मेरा बरु म तकिया पार्छु बिटुलो ।।
अझै टाढै जाऊ वरपर कतै देख्नु नपरोस् ।
भनूँ ऐया–ऐया ! ज्वलित धुन यो सुन्नु नपरोस् ।। (६)
सुनौला आँखाले रसमय कहानी पनि पढोस् ।
कसैका मायाँमा प्रणय सुख झन्झन् बढिरहोस् ।।
खुली लाली सारा चरम सुखको जीवन मिलोस् ।
मलाई प्याराले तनमन नसुम्पे पनि पुगोस् ।। (७)
(छन्द – शिखरिणी)
रितु खनाल ।