सूचनाको शक्ति - The Power Of Information

        

मंगलबार बिहानै वीर अस्पताल किन पुगे प्रचण्ड ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जनयुद्धका घाइते भेट्न वीर अस्पताल पुगेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा उपचारत पूर्व जनमुक्ति सेना भक्त राना मगर र गोरखा फुजेलका बिरामी (सहिद परिवार) तिलराम देवकोटालाई भेट्न मंगलबार बिहानै प्रचण्ड अस्पताल पुगेका हुन्।

अध्यक्ष प्रचण्डले उनीहरुको स्वास्थ्यअवस्थाबारे चिकित्सकहरुसँग परामर्श गर्नुका साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

काभ्रे महाभारत गाउँपालिका- ६ का राना मगर मकवानपुरको झुरझुरेमा घाइते भएका थिए। शान्ति प्रक्रियापछि वाइसीएलको जिम्मेवारीमा काम गर्दै आएका उनको टाउकोमा लागेको चोट बल्झिएपछि खुट्टामा इन्फेक्सन देखिएको र त्यसको कारण दुवै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ।

भेटमा प्रचण्डले मगरको ७ वर्षको बच्चाको पढाई र श्रीमतीका लागि रोजगारीको लागि पहल गर्ने प्रचण्डले आश्वासन दिएको स्वकीय सचिव मल्लले बताए।

मल्लका अनुसार अस्पतालमा डाक्टरहरु ड्युटीमा नरहने, बिरामीलाई प्राइभेट अस्पताल रेफर गर्ने, अस्पतालमा एमआरआई मेसिन बिग्रेको भनेर प्राइभेट ल्याबमा पठाउने, अस्पताल फार्मेसीले उपलब्ध गराउने भनेको निशुल्क औषधी पाउन मुस्किल हुने, महँगो औषधि निशुल्कको लिस्टमा नहुने, अप्रेसनमा प्रयोग हुने इक्विपमेन्टमा चर्को दलाली हुने आदि गुनासो बिरामी र उनीहरुको आफन्तहरुले प्रचण्डसँग गुनासो गरेका छन्।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार ११:०५