चीनमा १३२ जना सवार यात्रुवाहक विमान सोमबार दिउँसो दुर्घटनाग्रस्त भएको छ ।
चाइना इस्टर्न एयरलाइन्सको ७३७–८०० विमान दक्षिणी प्रान्त ग्वाङ्सीको पहाडमा दुर्घटनामा परेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । विमानमा १२३ जना यात्रु र चालकदलका ९ सदस्य रहेका चीनको नागरिक उड्डयन प्रशासनले जनाएको छ ।
चीनको दक्षिण पश्चिम प्रान्त युनानको राजधानी कुनमिङस्थित चाङसुई विमानस्थलबाट दिउँसो १ बजे ग्वाङझाओका लागि उडेको विमान दुर्घटनामा परेलगत्तै आगलागी भएको ग्लोबल टाइम्सले जनाएको छ ।
दुर्घटनाग्रस्त विमानबाट मानिसहरूको जीवितै उद्धार हुने सम्भावना कम रहेको ठानिएको छ । मंगलबार पनि खोजी कार्य जारी रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त जहाज अपराह्न ३ बजे ग्वाङझाओमा अवतरण गर्ने जनाइएको थियो । स्थानीयले सामाजिक सञ्जालमा राखेका भिडियोमा विमानका भग्नावशेषहरू पहाडमा यत्रतत्र छरिएका अवस्थामा देखिएका छन् ।
दुर्घटनाका कारणबारे यकिन भइसकेको छैन । चिनियाँ राष्ट्रपति सी चिनफिङले दुर्घटनाका कारण पत्ता लगाउन तत्काल अनुसन्धान गर्न आदेश दिएका छन् ।
दुर्घटनापछि चाइना इस्टर्न एयरलाइन्सले बोइङ–७३७–८०० विमानमार्फत दिँदै आएको सेवा स्थगित गरिएको जनाएको छ ।
दुर्घटना भएको स्थानमा आगोको ज्वाला र धूवाँको मुस्लो देखिएको छ । सीसीटीभीका अनुसार घटनास्थलमा परिचालित उद्धारकर्ताहरूले दुर्घटनापछि जंगलमा लागेको आगो निभाएका छन् ।
दुर्घटनापछि घटनास्थलमा ६ सयको संख्यामा उद्धार टोली खटाइएको छ ।bविमान कम्पनीले भने दुर्घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन । दुर्घटनामा परेको जहाज सन् २०१५ को जुनदेखि मात्रै सञ्चालनमा आएको थियो । १६२ सिट क्षमताको जहाजमा बिजनेस क्लासका १२ सिट थिए ।
चाइना इस्टर्न चीनको तीनवटा ठूलामध्येको विमान सेवा कम्पनी हो । राम्रो सुरक्षा प्रत्याभूतिसहित सेवा सञ्चालन गर्ने चिनियाँ विमान निकै कम दुर्घटनामा पर्ने गरेका छन् ।
यसअघि चीनमा १२ वर्षअघि ठूलो हवाई दुर्घटना भएको थियो । २०१० को अगस्टमा भएको दुर्घटनामा ४२ जनाको मृत्यु भएको थियो ।
सत्यपाटी । काठमाडौँ ।