स्थानीय तहको आउँदो निर्वाचन लक्षित म्यादी प्रहरीमा भर्ना हुन जिल्ला प्रहरी कार्यालय पर्वतमा आइतबार बिहानैदेखि ठेलमठेल भिड लागिरहेको छ ।
भर्ती हुन आएकाहरूमा युवाहरूको सङ्ख्या बढी भएको भए पनि यदाकदा तोकिएको उमेर हद छुनै लागेका पाका पुस्ताका व्यक्तिहरू पनि भेटिने गरेका छन् । जिल्ला प्रहरीका कार्यालय पर्वतमा लाइनमा देखिए जिल्लाको कुश्मा नगरपालिका–११ का ५२ वर्षीय डिल्लीराम पौडेल ।
पौडेललाई बच्चादेखि नै प्रहरी हुन खुबै मन लाग्थ्यो । २०४९ सालमा भर्ती भएका उनको प्रहरी बन्ने सपना लामो समय टिक्न सकेन । सशस्त्र द्वन्द्वका कारण ज्यान जान सक्ने खतरामा उनको परिवारले फिर्ता बोलायो ।
त्यो बेलाको प्रहरी बन्ने भूतले बुढेसकालसम्म पनि छाडेको छैन उनलाई । यही कारण उनी हरेक निर्वाचनमा म्यादी प्रहरीमा भर्ती हुँदै नेपाल प्रहरीको स्थायी कर्मचारी बन्न नसके पनि पोसाकमा सजिलै सपना पूरा गरिरहेका छन् ।
‘घरमा खासै काम नभएकोले फुर्सदको समयलाई सदुपयोग गर्न आएको हुँ । रोजगारी पनि छैन । उति बेला द्वन्द्वका कारण घरकाले प्रहरी हुन दिएनन्, प्रहरीको पोसाक पहिरिने सपना पूरा हुन पाएन,’ उनले भने ।
उनले पैसा कमाउनको लागि भनेर म्यादी हुन नआएका बताए । उनले भने, ‘प्रहरी सङ्गठन भनेको सङ्गठन नै हो, प्रहरीको पोसाक लगाउँदा नै रगत तात्छ, देशको सेवा गर्न मन लाग्छ । कहाँका हुन कहाँका साथीहरू भेट भएर कुरा गर्न पाइन्छ ।’
प्रहरी बन्ने वर्षौँ अगाडिको धोको बुढेसकालमा भए पनि पूरा गर्न पाएकोमा उनी खुसी छन् । ५२ वर्ष पुगेका कारण यो नै आफ्नो अन्तिम प्रयास हुन सक्ने र प्रहरीले जहाँ खटाउँछ त्यहीँ जान आफू तयार रहेको तथा तालिममा खट्न पनि सक्ने पौडेल बताउँछन् ।
कोही रहरैमा म्यादी प्रहरीमा आउँदा कोहीलाई भने करलाग्दी नै परेको छ । जिल्लाकै कुश्मा नगरपालिका–९ कटुवाचौपारीका रुद्रबहादुर परियार भने सन्तान र श्रीमतीलाई पूरा पेट खुवाउन सकिएला भन्ने आशामा म्यादी प्रहरीमा भर्ना हुन आएका हुन् ।
बेरोजगारीका कारण आफू समस्यामा रहेका बताउने उनले गाउँमा सामान्य मजदुरी गर्दा भन्दा म्यादी प्रहरीमा रहँदाको तलब धेरै हुने भएका कारण भर्ती हुन आएको रुद्रबहादुर बताउँछन् । उनले समस्याकै कारण आफू यहाँ भर्ती हुन आएको बताए ।
‘भारत गएर काम गर्दा पनि गतिलो भएन, अहिले गाउँमा काम गर्दा ५–७ सयभन्दा आउँदैन । अलिकति दिन भए पनि म्यादीमा त त्यो भन्दा धेरै पैसा आउँछ,’ उनले भने, ‘जता गए पनि कामै गर्ने हो । अर्को कुरा १९ वर्षको उमेरमा प्रहरीमा भर्ती हुन गएका उनी दौडमा फालिएपछि प्रहरी हुन सकिनँ । त्यो बेलाको रहर मेटाऊँ भन्ने पनि मेरो चाहना हो ।’
मोदी गाउँपालिका–५ बाजुङ घर भएका ४६ वर्षीय रमाकान्त सुवेदी पनि परिवारको गर्जो टार्नकै लागि म्यादी प्रहरीमा भर्ती हुन आएको बताउँछन् । पहिले दक्षिण कोरियाको राजदूतावासमा सुरक्षा गार्डको रूपमा समेत रहेका उनी त्यही प्रमाणपत्र बोकेर म्यादी प्रहरीमा भर्ती हुँदै आएका छन् ।
संविधानसभाको निर्वाचनमा पनि म्यादी प्रहरीको रूपमा काम गर्ने मौका पाएका सुवेदीलाई पनि सानैदेखि सेना वा पुलिसमा काम गर्ने इच्छा थियो । ‘सानैदेखि सेना पुलिसमा आउन मन लाग्थ्यो । तर आफ्नो मान्छे नभएका कारण भर्ती हुन सकिनँ । यही भए पनि प्रहरी बन्न पाए मेरो लागि खुसीको कुरा हो,’ उनले भने ।
२०६४ सालदेखिका हरेक निर्वाचनमा म्यादी प्रहरी रहँदै आएको उनले बताए । उनले भने, ‘दौडन सक्छु । बेरोजगार मान्छेलाई केटाकेटी पाल्न गाह्रो छ । बेरोजगारीकै कारण म्यादी बन्न मन लागेको हो । काम गर्छु भन्दा नि नपाएको बेलामा यही भए पनि किन छाड्नु ? यो पैसा बुझेर रिल्याक्स गरेर उडाउन आएको होइन, नुन तेल बेसार किनौँला भनेर हो ।’
बाजुङकै ५३ वर्षीय लालबहादुर कार्कीसँग ०३६, ०७० र ०७४ सालको निर्वाचनमा म्यादी प्रहरी भएर काम गरेको अनुभव छ । पूर्व भारतीय सेनासमेत रहेका उनले त्यसको पेन्सनबापत मासिक ४० हजार रुपैयाँ पाउँदै आएका छन् । पैसाको लागिभन्दा पनि आफूलाई फेरि फौजमै रहेको अनुभूति दिलाउन म्यादी प्रहरीमा आएको उनले बताए ।
‘पुराना साथीहरूसँग भेट हुन्छ, फेरि पनि आर्मीमै रहेको महसुस हुन्छ भनेर आएको हुँ । मनोरञ्जन र सिकाइ पनि हुन्छ,’ लालबहादुर भन्छन्, ‘घरमा सकेको खेती किसानी गरेको छु । सेनाको पेन्सन ४० हजार आउँछ, मलाई पैसा चाहिएको होइन । फेरि पनि फौजी बन्ने हो भनेर आएको हुँ ।’ आइतबारदेखि नै निकै भिड लागेको बताउँदै उनले लाइनमा बसेकाहरू उच्च शिक्षा लिएकाहरूदेखि लिएर पूर्व कर्मचारीहरू समेत रहेको बताए ।
म्यादी प्रहरीको भर्तीमा खटिएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेल कोही प्रहरी हुने रहर मेटाउन त कोही घरायसी बाध्यताले म्यादी प्रहरीमा फाराम भर्न आएको बताउँछन् । म्यादी प्रहरीमा पूर्व सुरक्षाकर्मी तथा पूर्व म्यादी प्रहरीलाई प्राथमिकतामा राखिएका कारण पनि यस्तै खालका जनशक्तिको चाप पनि धेरै रहेको इन्स्पेक्टर पौडेलको भनाइ छ ।
सत्यपाटी । पर्वत ।