सूचनाको शक्ति - The Power Of Information

        

रुस–युक्रेन युद्ध : विश्वभर भोकमरीको खतरा

रुस र युक्रेनबिचको जारी युद्धका कारण विश्वको तेल र ग्यास बजार मारमा परिरहेको छ । यतिमात्रै होइन, युद्धले विश्वभर भोकमरी बढ्ने तथा खाद्यान्न अभाव देखिन सक्ने चिन्ता व्यक्त हुन थालेको छ ।

‘हामीले संभावित सबै उपाय अपनाएर भोकमरीको आँधी आउन र विश्वव्यापी खाद्यान्न प्रणाली धरासायी हुनबाट रोक्नुपर्छ,’ राष्ट्रसंघका महासचिव एन्टोनिय गुटेरेसले केही दिनअघि चेतावनी दिँदै भनेका थिए ।

त्यसअघि विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड बिस्लेले युक्रेन युद्धका कारण भोकमरीको अवस्था डरलाग्दो तहमा पुग्न सक्ने चेतावनी दिएका थिए । ‘युक्रेनमा बम र गोलीले विश्वव्यापी भोकमरीको संकट डरलाग्दो अवस्थामा पुग्न सक्छ,’ बिस्लेले भने ।

आपूर्ति चक्र र खाद्यान्नको भाउ नाटकीय रुपमा प्रभावित बन्न सक्छ । सोमबार ब्रसेल्समा फ्रान्सका कृषिमन्त्री जुलियन डेनरमान्डीले पनि विश्वकै प्रमुख अन्न उत्पादक युक्रेन र रुसबीच जारी युद्धले संसारभर खाद्यान्न संकट देखिने बिस्लेले चेतावनी दिएका छन् ।

यसैबीच, मध्यपूर्व र उत्तरी अफ्रिकाको खाद्यान्न संकट थप गरिरिने ह्युमन राइट्स वाचले चेतावनी दिएको छ । ‘मध्यपूर्वी तथा उत्तरी अफ्रिकी मुलुकमा कृषिजन्य उपज निर्यात गर्ने प्रमुख मुलुकमा युक्रेन र रुस पर्छन्,’ ह्युमन राइट्स वाचले विज्ञप्तिमा भनेको छ ।

विज्ञप्ती अनुसार युद्धका कारण व्यवधान सिर्जना हुँदा खाद्यान्नको बढ्दो मूल्य एवं गरिबी झप खराब बन्न सक्छ ।’ विश्वमै धेरै गहुँ, मकै र जौ उत्पादन हुने देशमा रुस र युक्रेन अग्रपंक्तिमा छन् । युक्रेन र दक्षिण–पश्चिम रुसलाई युरोपको अन्न भकारीसमेत मानिन्छ ।

विश्वभर हुने गहुँ निर्यातमध्ये यी दुई देशले ३० प्रतिशत हिस्सा ओगट्छन् । तर दुबै देश युद्धमा होमिएपछि यसको असर खाद्यान्नमा पर्न थालेको हो । त्यस्तै, विश्वभर उत्पादन हुने सूर्यमुखी तेलमध्ये ८० प्रतिशत रुस र युक्रेनमा उत्पादन हुन्छ ।

युक्रेन मकै निर्यात गर्ने विश्वकै चौथो ठूलो देश हो । तर त्यहाँको सरकारले मार्च ९ मा एक प्रस्ताव पारित गरी गहुँ, मकै, मासुलगायतका वस्तु निर्यातमा प्रतिबन्ध लगाइसकेको छ । युद्धकै कारण विश्वभर निर्यात हुने गहुँ लगायतका वस्तुको ठूलो परिमाण युक्रेन र रुसमा रोकिएर बसेको छ ।

त्यस्तै, विश्वभर जाने रासायनिक मलको ठूलो हिस्सा बेलारुस र रुसमा अड्किएर बसेको छ । फलस्वरुप, संसारभर खाद्यान्न र रासायनिक मलको भाउ बढ्न थालेको हो । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १६:५९