सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन : एमालेले बनायो उम्मेद्वार छनोट मापदण्ड

नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेद्वार छनोटको मापदण्ड बनाएको छ । सोमबार बसेको स्थायी कमिटीमा उम्मेद्वार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्दै मापदण्ड बनाएको हो ।

एमालेमा वडा सदस्य र वडाध्यक्षहरुको उम्मेद्वार सम्बन्धीत वडा कमिटीले सिफारिस गर्नेछ भने जिल्ला कमिटीले निर्णय गर्नेछ । पालिका प्रमुख र उपप्रमुखको उम्मेद्वार पालिका कमिटीको सुझावमा जिल्लाले सिफारिस गर्नेछ भने प्रदेश कमिटीले निर्णय गर्नेछ ।

महानगरका मेयर र उपमेयरका उम्मेद्वारबारे निर्णय प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले गर्नेछ । उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कामको मूल्यांकन हुनेछ ।

यस्तै कार्य क्षमता, विकास र सुशासनप्रति दृष्टिकोण, लोकप्रियता र चुनावमा जित्ने आधार, पार्टीको आन्दोलनमा पुर्याएको योगदान र पार्टीप्रति निष्ठाका साथै सन्तुलन र समवेशीलाई उम्मेद्वार छनोटको मापदण्ड बनाइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १६:१४