सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन

बाँकेमा ११२ मतदान स्थल अति संवेदनशील, कस्तो सुरक्षा तयारी ?

बाँके प्रहरीले निर्वाचनमा मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी गराउन सुरक्षा अवस्थाको विश्लेषण गरिरहेको छ ।

  • ७५ जनाको रिजर्भ फोर्स ‘हाई अलर्ट’

  • मतदान स्थलमा १३३० प्रहरी र १६८६ म्यादी परिचालन

  • निर्वाचन अवधिमा नेपाल–भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बाँके प्रहरीले सुरक्षा संवेदनशीलतालाई केलाउन थालेको छ । जिल्लामा कायम गरिएका मतदान स्थलहरुमा सुरक्षा प्रबन्धलाई चुस्त राख्न निर्वाचनमा कस्तो सुरक्षा रणनीति बनाउने भन्नेमा प्रहरी केन्द्रीत भएको छ ।

बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकामा कायम गरिएका १३६ मतदान स्थलमध्ये ११२ मतदान स्थललाई अति संवेदनशील र २४ वटा मतदान स्थललाई संवेदनशील तोकिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले सत्यपाटीलाई जानकारी दिए ।

भौगोलिक अवस्था र खुला सीमाना लगायतका कारण सुरक्षा संवेदनशीलता भए पनि बाँकेको सुरक्षा प्रहरीको ‘अण्डर’मा रहने प्रहरी उपरीक्षक अधिकारीले बताए । निर्वाचनमा मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी गराउन सुरक्षा अवस्थाको विश्लेषण गरिरहेको पनि प्रहरी उपरीक्षक अधिकारीले सत्यपाटीलाई जानकारी दिए ।

स्थानीय तहको निर्वाचनका समयमा मतदान स्थल तथा मतदान केन्द्रसम्म जानको लागि बाटोको अवस्था, मतदान स्थल तथा केन्द्रको सुरक्षाको अवस्था र मतदाताको मनोभावना बुझेर निर्वाचन लक्षित सुरक्षा रणनीति बनाइने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

‘बाँकेका सबै स्थानीय तहका मतदान स्थलमा पुगेर त्यहाँको भौतिक पूर्वाधारको अवस्था र सुरक्षाको प्रबन्ध मिलाउन हामी अनुगमन पनि गर्नेछौं,’ प्रवक्ता न्यौपानेले सत्यपाटीलाई बताए । उनले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्था बलियो बनाउन कुनै कसर बाँकी नराख्ने पनि बताए ।

स्थानीय तहको निर्वाचनका लागि सुरक्षा व्यवस्थाको आवश्यक तयारीमा प्रहरी जुटिसकेको पनि उनले बताए । ‘निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न हामीले आन्तरिकरुपमै आवश्यक सुरक्षा तयारी थालिसकेका छौं,’ प्रवक्ता न्यौपानेले भने, जिल्लास्थित सुरक्षा समितिले पनि सुरक्षा योजना बनाएपछि थप रणनीति तय हुनेछ ।’

७५ जनाको रिजर्भ फोर्स ‘हाई अलर्ट’मा

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले थप सुरक्षा बल ‘हाई अलर्ट’मा राखिनेछ । सबै मतदान केन्द्रमा आवश्यक परेमा तुरुन्त उपलब्ध गराउन थप सुरक्षा बल अर्थात् रिजर्भ फोर्सलाई ‘हाई अलर्ट’मा राखिएको बाँकेका प्रहरी प्रवक्ता न्यौपानेले सत्यपाटीलाई बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेले थप सुरक्षा बल ‘हाई अलर्ट’मा राखिनेछ । सबै मतदान केन्द्रमा आवश्यक परेमा तुरुन्तै उपलब्ध गराउन थप सुरक्षा बल ‘हाई अलर्ट’मा राखिने बाँकेका प्रहरी प्रवक्ता न्यौपानेले सत्यपाटीलाई बताए । निर्वाचन अवधिमा ७५ जना सुरक्षाकर्मीको रिजर्भ फोर्स ‘हाई अलर्ट’मा राखिनेछ ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा २५ जना, इलाका प्रहरी कार्यालय कोहलपुरमा २५ जना र इलाका प्रहरी कार्यालय भगवानपुरमा २५ जना गरी ७५ जनाको रिजर्भ फोर्स ‘हाई अलर्ट’मा राखिनेछ । ‘रिजर्भ फोर्सलाई आवश्यकता अनुसार तत्काल परिचालन गर्नेछौं,’ प्रहरी प्रवक्ता न्यौपानेले सत्यपाटीलाई भने ।

प्रहरी नायव उपरीक्षक न्यौपानेका अनुसार मतदान हुने दिन मतदान स्थल तथा केन्द्रको चार तहमा सुरक्षा हुनेछ । सुरक्षा व्यवस्थामा कहीँकतै कमजोरी हुन नदिन र ढुक्क भएर मतदाता मतदान केन्द्रसम्म पुग्ने वातावरण बनाउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले फरक–फरक कोणबाट सुरक्षा निगरानी गर्नेछन् ।

मतदान स्थलमा १३३० प्रहरी र १६८६ म्यादी परिचालन

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेमा १ हजार ३३० जना प्रहरी परिचालन हुनेछन् । प्रहरीसँगै जिल्लाभर १ हजार ६८६ जना म्यादी प्रहरी पनि परिचालन हुने प्रहरी प्रवक्ता न्यौपानेले सत्यपाटीलाई जानकारी दिए । अति संवेदनशील रहेका ११२ मतदान स्थलमा १३ जनाका दरले सुरक्षाकर्मी खटाइने भएको छ ।

संवेदनशील रहेका २४ वटा मतदान स्थलमा पनि आवश्यकताका आधारमा सुरक्षाकर्मी खटाइने प्रवक्ता न्यौपानेले जानकारी दिए । उनका अनुसार संवेदनशील रहेका मतदान स्थलमा पनि आवश्यकताका आधारमा सुरक्षाकर्मी खटाइने छ । मतदान स्थलको सुरक्षाका लागि पैदल, गाडी र हवाई गस्ती पनि सँगसँगै हुने प्रवक्ता न्यौपानेले जानकारी दिए ।

उनले भने, ‘तीन वटै सुरक्षा अङ्गले मतदान स्थलको सुरक्षाका लागि संयुक्त गस्ती गर्नेछन् ।’ संवेदनशील मानिएका जिल्लाका मतदान स्थलका लागि तीन वटै सुरक्षाकर्मीको मोबाइल गस्ती परिचालन हुने, अनुसन्धान अधिकारी खटाउने र निगरानीको विशेष व्यवस्था गर्ने गरी सुरक्षा तयारी रहने पनि प्रवक्ता न्यौपानेले सत्यपाटीलाई बताए ।

निर्वाचन अवधिमा नेपाल–भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती

स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर मतदानको केहीदिन अघिदेखि नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त गस्ती पनि हुनेछ । खुला सीमानाका कारण हुनसक्ने अपराधिक गतिविधिलाई निस्तेज गर्नको लागि निर्वाचनको अवधीसम्म नेपाल–भारत दशगजामा संयुक्त गस्ती गरिने प्रवक्ता न्यौपानेले सत्यपाटीलाई जानकारी दिए । बाँकेको ६५ किलोमिटर भू–भाग भारतसँग खुला सीमा जोडिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १५:१०