राजनीतिक दल स्थानीय तहको चुनावमा केन्द्रित छन् । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि शीर्ष नेताहरू देश दौडाहामा छन् ।
निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि चुनावी दौडमा छ ।
राप्रपाले गत मंसिरमा सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्ष चयन गरेको थियो । राप्रपाले २५ चैतमा काठमाडौँको खुलामञ्चमा आमसभा गर्ने भएको छ ।
पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रूपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
आमसभाका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय आयोजक समिति गठन भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका अध्यक्ष सहसंयोजक रहेको समितिमा केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव छन् ।
समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्ष, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशभित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्य, प्रतिनिधिसभा, प्रदेशसभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्ष पनि छन् ।
आमसभालाई प्रभावकारी बनाउन उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले बताए । उपाध्यक्षहरु ध्रुबबहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मुल समितिको पहिलो तयारी बैठक बसेको थियो ।
पछिल्लो एक महिनामा लिङ्देनको देशव्यापी दौडाहा चलिरहेको छ, उनले फागुनबाट सुरु गरेको दौडाहा सिन्धुलीसम्म पुग्दा ४१ वटा सभालाई सम्बोधन गरिसकेका छन् ।
लिङ्देनले आइतबार मात्रै भक्तपुर, काठमाडौँ र ललितपुरमा आयोजित छुट्टाछुट्टै तीनवटा सभालाई सम्बोधन गरेर सोमबार सुनसरीको चक्रघट्टीमा हुने सभामा सहभागी हुन त्यसतर्फ लागेका छन् ।
सत्यपाटी । काठमाडौँ ।