सूचनाको शक्ति - The Power Of Information

        

कविता

आखिर के हो ? ‘जिन्दगी’

बुझ्न सजिलो कहाँ छ र यहाँ कसको मनमा के लुकेको छ भनेर ।
पटक–पटक टुट्छ मन तोड्छु भनेर नाता कहाँ तोडिन्छ र ।
मनै त हो समयानुसार परिवर्तन हुन्छ नै तर अनुभव ताजै रहनेछ ।
मन, विचार, धारणा मिल्यो जोड्छु भनेर नाता कहाँ जोडिन्छ र ।
को कहाँ कुन स्वार्थले जोडियो हिसाब किताब मिलेन छुटेर गयो ।
बुझ्ने मन हेर्ने नजर मैलो भएपछि हिँड्ने दोबाटो बाङ्गो भइदियो ।
कोही आफ्नो भएर पनि आफ्नो हुन सकेन कोही आफ्नो नभएर पनि आफ्नो हुन्छ ।
धनले हेरिएको साथ छोटो हुन्छ याद राख्नुहोस् साथ दिने प्राय गरिब नै हुन्छ ।
कसैका लागि बारम्बार झुकेर के अर्थ जब आफैलाई कुल्चेर हिँड्छ नै भने ।
शान्तपूर्वक परिश्रम गर्न नछोड्नुहोस् हल्ला त आफ्नै सफलताले एकदिन मचाइदिन्छ भने ।
कमाउला र रमाउला भन्नु त शब्द मात्रै हो जिम्मेवारीले आधा उमेरे लुटिसकेको हुन्छ ।
धैर्यता त आफैमा राख्नुपर्छ किनकी हर कुरा सहज हुनुभन्दा पहिला कठिन त पक्कै हुन्छ ।
पैसा कमाउनुपर्छ मन परेको सामान होस् या आफन्त सित्तैमा मिल्दोरहेछ ।
त्यसैले त भनिन्छ दुनियाँ मनसँग होइन आवश्यकतासँग मित्रता गास्दोरहेछ ।
फुटेको भाग्य र भत्किएको सपना बोकेर हिड्न सजिलो कहाँ छ र ?
हजार सपना अनि लाख चुनौती बीच मुस्कराउन कहिल्यै छोड्न हुँदैन हजुर ।
विश्वास तोडे धन्यवाद दिने हो हासीखुसी दुई हात जोडेर ।
राम्रो मान्छे चिन्ने र राम्रो किताब पढ्ने अवसर बारम्बार सबैलाई कहाँ मिल्छ र ?
सानो चोट लाग्दा नि बाल्यकालमा देखाएरै रुने यो मुहार उमेर बढ्दै जाँदा लुकाउनुपर्छ ।
जब मन भरिएपछि सर्पले झैं हामीले पनि काँचुली फेर्नैपर्छ ।
अन्तर्वार्ता त हरदिन भइरहेको हुन्छ आफ्नो मनसँग तर उत्तर भने मौन रहे ।
सुन लाएको देख्ने दुनियाँसँग गुन लाउनेहरुको भीड हराउँदै गए ।
कति पापी मन छ है वास्तविकताभन्दा परको बुझिदिने ।
दुःखेको घाउमा मलमपट्टी लाउनुको साटो नुन छर्की घाउ बल्झाइदिने ।
मनमा नभरिएको धर्म र मायाले सफलता तिम्रो कस्तो होला र ?
भौतिक ऐसआराम सर्वस्व होला तर बिना सन्तोषको मन कहाँ अडिएला र ?
व्यङ्ग्य बचन तरबारभन्दा धारिलो हुन्छ बोल्नु पूर्व धेरै सोच्नुपर्दो रहेछ ।
भर नै नभएको जिन्दगीमा आँसु लुकाएर हाँस्नुपर्दो रहेछ ।
फसाउने पनि आफ्नै छ, हसाउने पनि आफ्नै छ यो पापी दुनियाँमा पर्नु खै कसको भर ?
मुस्किलभित्रको अनेक पाठ मनन् गरी जीवनमरणसम्मको यात्रा गर्नुछ निरन्तर…

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ०९:१८