मोरङको लेटाङमा आइतबार स्थानीयको आक्रमणमा परेकी एक महिला प्रहरी जवानको मृत्यु भएकाे छ ।
प्रहरी जवानको मृत्युभएछि जिल्ला प्रशासन कार्यालय मोरङले आज (साेमबार ) बिहान ७ बजेदेखि सो क्षेत्रमा कर्फ्यु लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले साेमबार बिहान सूचना जारी गर्दै बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाइएको बताउनुभएको हो ।
दक्षिणमा लेटाङ नगरपालिका वडा नंबर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ का सबै क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
आइतबार यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा सात प्रहरी घाइते भएका थिए । घाइते प्रहरी मध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो ।
लेटाङको शिक्षा विकास माविमा अध्ययनरत् १३ वर्षीया छात्रालाई शिक्षकले बलात्कार प्रयास गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेकाथिए ।
आइतबार दिउँसोदेखि विद्यालय तनावग्रस्त बनेको क्षेत्रमा खटिएका प्रहरीमाथि प्रदर्शनकारीहरुले धारिलो हतियार प्रयोग गरेका थिए ।
आक्रोशित भिडले गरेको छुरा प्रहारबाट गम्भिर घाइते भएकी र उर्मिलालाई उपचारका लागी कोशी अस्पतालमा लगिएको थियो । प्रदर्शनकारीहरुले सुरक्षार्थ खटिएका प्रहरीमाथि पेट्रोल बम समेत प्रहार गरेको बुझिएको छ ।
प्रहरीले आरोपित शिक्षक मनोज पौडेललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा ल्याएको छ ।
सत्यपाटी । काठमाडौँ ।