सूचनाको शक्ति - The Power Of Information

        

वन्यजन्तुका अङ्गको चोरी निकासी

संरक्षित वन्यजन्तुका अङ्ग तस्करीका लागि बाँके ‘सुरक्षित’ !

रेडपाण्डाको छाला र चरेशसहित ६ जनालाई पक्राउ

बाँके प्रहरीले रेडपाण्डाको छाला र चरेशसहित ६ जनालाई पक्राउ गरेको छ । नेपालगन्जको नर्सिङहोम अगाडिको एक होटलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । डोल्पाका शुकराम विक, विकेश बोहरा, रामकृष्ण शाही र हर्कबहादुर विकलाई प्रहरीले रेडपाण्डाको छालासहित पक्राउ गरेको हो ।

रेडपाण्डाको छाला बिक्री हुँदै गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको नेतृत्वमा खटिएको टोलीले नेपालगन्ज–१२ स्थित नेपालगन्ज मेडिकल कलेजको पश्चिमतर्फ रहेको एक होटलको कोठा नं. १०५ बाट २ थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले पटक–पटक संरक्षित वन्यजन्तुका अङ्गप्रत्यङ्गसहित पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार सात महिनामा पाटेबाघको छाला तीन थान, रेडपाण्डाको छाला दुई थान, चार वटा भालुको पित्त र दुई वटा हात्तीको दाँतसहित १० जनालाई पक्राउ परिसकेका छन् ।

पछिल्लो समय तस्करहरुले बाँकेलाई दुर्लभ वन्यजन्तुका अङ्ग तस्करीको ट्रान्जिट बनाउन थालेपछि संरक्षित वन्यजन्तु र तिनका अङ्गको चोरी निकासी नहोस् भन्नेमा प्रहरी सजग रहेको बताउँदै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता न्यौपानेले भने, ‘सबैखाले अपराध नियन्त्रणका लागि प्रहरी सक्रियरूपमा परिचालित छ ।’

प्रहरीको उच्च सक्रियता हुँदाहुँदै पनि बाँके जिल्ला वन्यजन्तुका अङ्ग तस्करीको केन्द्रझैं बनिरहेको छ । अवैद्य वन्यजन्तुका अङ्ग खरिद बिक्री तथा मुल्यको बार्गेनिङ्गका लागि पनि नेपालगन्ज, कोहलपुर क्षेत्र सुरक्षित र केन्द्र बनिरहेको छ । यद्यपी न्यून जनशक्ति हुँदाहुँदै पनि नियन्त्रणका लागि प्रहरीले सक्रियता देखाइरहेको छ ।

कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी जिल्लाबाट वन्यजन्तुको छाला ल्याएर नेपालगन्जमा विक्री हुने गरेको छ । प्रहरीले बाघ, चितुवा र अन्य जंगली जनावरको छालासहित ओसारपसारमा संलग्न व्यक्तिलाई पक्राउ गरिरहँदा बाँके जिल्ला वन्यजन्तुका अङ्ग ओसारपसार गर्ने ‘ट्रान्जिट’का रुपमा विकास हुँदै गएको छ ।

पछिल्लो समयमा संरक्षित लोपोन्मुख वन्यजन्तु मारेर छाला र हड्डी डोल्पा, हुम्ला हुँदै चीनको तिब्बत पुर्याउने तस्कर समूह सक्रिय देखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) ले पक्राउ परेकालाई ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ ।

त्यस्तै, प्रहरीले पुष्पलाल चोकस्थित एक होटलबाट दुई किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटका प्रवीण शाही र नेपालगन्जका राजबहादुर कार्की रहेका छन् । लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ (घ) ४ बमोजिम १ बर्षदेखि ३ बर्षसम्म कैद ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतवार १७:५९