बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका जनतालाई वरदान सावित हुँदै गएको छ । अस्पतालले सेवा विस्तार गरेसँगै क्यान्सर अस्पताल खजुरामा उपचारका लागि आउने बिरामीको चाप बढेको छ ।
क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र वीर अस्पताल काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । खजुरामा ब्राकीथेरापी मेसिन जडान गरेर शल्यक्रियाको समेत सेवा विस्तार गरेपछि चितवन र काठमाडौंबाट समेत बिरामी आउन थालेका अस्पतालका मेडिकल फिजिसिष्ट डा. तीर्थराज अधिकारीले जानकारी दिए ।
उनले पश्चिम क्षेत्रका बिरामीले आफ्नै ठाउँमै सुलभ र गुणस्तरीय उपचार सेवा पाएको बताए । रु. तीन करोड बढीको ब्राकीथेरापी मेसिन जडान गरिएपछि खजुरामा देशभरबाटै बिरामी आउन सुरु गरेका छन् । अन्तर्राष्ट्रिय मेडिकल फिजिक्स सर्टिफिकेसन बोर्डबाट रेडियसन अनकोलोजी फिजिसिष्टको मान्यता पाएका डा. अधिकारी र रेडियसन अनकोलिष्ट डा. मुकेश यादवले ब्राकीथेरापी सेवा दिइरहेका छन् ।
अस्पतालमा ब्राकीथेरापी मेसिन जडान गरेपछि पाठेघरको मुखको क्यान्सरको शल्यक्रिया सुरु भएको छ । अस्पतालमा नयाँ प्रविधिको प्रयोग बढिरहेको अस्पतालका निर्देशक कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार अस्पतालमा डिपार्टमेन्टहरू थपिएका छन् । बिरामीको चाप बढ्दो छ, अहिले यहाँका बिरामीमा ५० प्रतिशत क्यान्सर र ५० प्रतिशत अन्य रोगका छन् । वीर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा जाने गरेका बिरामी खजुरा आउन थालेका छन् ।
सत्यपाटी । बाँके ।