सूचनाको शक्ति - The Power Of Information

        

यौनकर्मीको दृष्य हटाएर प्रकाश सपुतकाे ‘पिर’ फेरि युट्युबमा अपलोड

गायक प्रकाश सपुतले आफ्नो गीत ‘पिर’ को भिडियोमा रहेको यौनकर्मीको दृष्य हटाएका छन् ।

माओवादीका पूर्व लडाकु महिलाले जीवन जिउन समस्या परेपछि यौनकर्मी बन्नुपरेको दृष्य गीतको भिडिओमा राखेपछि विभिन्न बहस र विवाद उत्पन्न भएका थिए । गायक सपुतले यौनकर्मीको दृष्य हटाएर आज बेलुका ‘पिर’लाई फेरि युट्युबमा अपलोड गरेका हुन् ।

कतिपयले प्रकाश सपुतले कलामार्फत माओवादी आन्दोलनमा लागेकाहरुको यथार्थ दृष्य प्रस्तुत गरेको बताएका थिए भने माओवादीकाे भातृ सङ्गठनले गीतको भिडिओमा आपत्तिजनक दृष्य राखेर माओवादी आन्दोलनलाई बदनाम गर्न खोजेको भन्दै आपत्ति जनाएका थिए ।

भिडिओको बारेमा बहस र विवाद भएपछि सपुतले अहिलेका परिवर्तन माओवादी आन्दोलनकै कारण आएको विषय भिडिओमा समेटिएको र केहिका दु:खलाई देखाउने प्रयास गरेको भन्दै राजनीतिकरण नगरिदिन आग्रह गरेका थिए ।

भिडियाे :

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतवार ११:००