सूचनाको शक्ति - The Power Of Information

        

गठबन्धनको बैशाखी टेकेर नबस्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले स्थानीय तहको चुनावमा गठबन्धनको बैशाखी टेकेर नबस्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

आज आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्ने बताउनुभएको हो ।

उहाँले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ । गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो ।’

प्रचण्डले आगामी चुनावमा तालमेल गर्न माओवादी नजाने, बरु अरु पार्टी माओवादीकहाँ आउने दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशैभरी एकचोटी फेरि हेर्नुपर्ने र दिनुपर्ने माओवादीलाई नै रहेछ भन्ने जनमत बन्दै गएको छ ।

हेर्नुहोला, एक महिनाभित्र अरु सबै पार्टीहरु माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन । किनभने यो देशको परिवर्तनको बाहक हामी हौं ।’

स्थानीय तहको निर्वाचन तोकिएको मिति वैशाख ३० मै हुने बताउँदै प्रचण्डले यसमा कसैले पनि द्विविधा पाल्न नहुने बताउनुभयो

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतवार ०९:५८