सूचनाको शक्ति - The Power Of Information

        

सतर्कता अपनाऔं

बर्डफ्लुको उच्च जोखिममा बाँके जिल्ला, सीमा नाकामा कडाई

नेपाल भारत सीमापारि भारत उत्तर प्रदेशका केही ठाउँमा बर्डफ्लु देखिएपछि बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा छ ।

भारतबाट भित्रिने अवैध कुखुरा र चल्लाका कारण बाँकेमा पनि बर्डफ्लु फैलिने सम्भावना अत्याधिक बढेकोले यो जिल्ला उच्च जोखिममा परेको हो ।

भारतबाट लुकिछिपी हुँदै आएको पंक्षीजन्य पदार्थको अवैध आयातले गर्दा बाँकेमा जोखिम अत्याधिक बढेको जनाउँदै स्थानीय अगुवाहरुले जिल्लाका सबै नाकामा कडाइ गर्न माग गरेका छन् ।

नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले नाकाहरुमा कडाइ गरिएन र जिल्लामा सचेतना अपनाइएन भने बर्डफ्लु भित्रिन बेर नलाग्ने आशंका व्यक्त गरे ।

उनले भारतका धेरै ठाउमा बर्डफ्लु देखिएको र नेपालकै केही जिल्लामा समेत बर्डफ्लु देखिएकोले बाँकेमा नपुग्ला भन्न नसकिने जनाउँदै सो बारेमा सम्बन्धित निकायले ध्यान दिनु आवश्यक रहेको बताए ।

बाँकेका किसान र व्यवसायीले पनि सीमा नामा कडाइ नगरिने हो भने बर्डफ्लु भित्रिन सक्ने र त्यसबाट एकातिर मानव जीवन संकटमा पर्ने र अर्कोतिर आफ्नो व्यवसाय सखाप हुने चिन्ता व्यक्त गरेका छन् ।

जिल्लाकै सबैभन्दा ठूलो कुखुरा फार्म रजा ग्रुपका सञ्चालक मुख्तार राईले बर्डफ्लु भित्रिन नदिन पनि भारतबाट आउने कुखुरालाई रोक्न आवश्यक तथा अपरिहार्य भैसकेको बताए ।

उनले बर्डफ्लु भित्रियो भने मानव जीवनलाई समस्या पर्नुका साथै करौंडोको लगानीमा खोलिएको कुखुरापालन व्यवसाय पनि सखाप हुने आशंका जनाए ।

सोही प्रकारले अर्का कुखुरापालक व्यवसायी कादरी पोल्ट्री फार्मका सञ्चालक मुनिजर खानले बर्डफ्लु भित्रिनबाट रोक्ने हो भने भारतबाट हुँदै आएको कुखुराको अवैध आयातलाई रोक्नै पर्ने बताए ।

उता, प्रहरी प्रशासनले भने नाकाहरुमा कडाई गरिएको जनाउँदै दिनरात खटिएर सुरक्षाकर्मीले कुखुरा लगायत सबै अवैध आयातलाई रोक्ने काम गरिरहेको दावी गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मुख्य नाकामा रहेका सुरक्षाकर्मी र क्वारेन्टाइनलाई कुखुरा र गुणस्तरहीन माछाको आयात रोक्न कडा निर्देशन दिइएको बताए ।

उनले बर्डफ्लु भित्रिने आशंका अहिले बढेकोले झन् कडाइ गर्न नाकामा तैनाथ सबै सुरक्षाकर्मीलाई निर्देशन दिइएको जनाए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतवार ०८:५८