सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा गर्भवतीलाई पोषण कोसेली

गर्भवती महिलालाई पोषण कोसेली र धोतीे वितरण गर्दै नारायण नगरपालिकाका उपमेयर सावित्री मल्ल ।

गर्भावस्थामा ध्यान दिनुपर्ने खानपिन, स्वास्थ्य सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै पुस्तौं पुस्ताको न्यून पोषण चक्रलाई तोड्न गर्भवतीमाई पोषण कोशीले सँगै धोती उपहार दिएको छ ।

स्वास्थ्य नागरिक समृद्ध नगर भन्ने नारालाई आत्मसात गर्दै नगरपालिकाले गर्भवती महिलासँग उपमेयर’ कार्यक्रममार्फत नगरपालिकाका ११ वडाका गर्भवती महिलालाई पोषणको कोसेली र धोती उपहार दिएको छ ।

नारायण नगरपालिका उपप्रमुख सावित्री मल्लले गर्भवती अवस्था आफूले भोगेको बताउँदै आफू उपप्रमुख भएको बेला आफूलाई मतदान गर्ने महिलालाई केही कार्यक्रममार्फत सम्बोधन गर्नुपर्छ भनेर यो कार्यक्रम सञ्चालन गरेको बताइन् ।

उनले गर्भवती महिलालाई मात्र होइन २० वर्ष उमेर पुगेर विवाह गरेका र दुई सन्तान जन्माएका र सरकारले तोकेको स्थानमा गएर प्रसूति हुने र बच्चालाई लगाउनुपर्ने सबै खोप लगाएका आमाहरूलाई समेत असल आमा कार्यक्रममार्फत सम्मान गरिएको बताइन् ।

उपप्रमुख मल्लले भनिन्, ‘आफू उपप्रमुख हुनुभन्दा अगाडि एक आमा हुँ, मैले त्यो पीडा भोगेकी छु तपाईँहरूलाई सानो भए पनि दुई हजार बराबरको पोषण कोसेली र एक थान धोतीे दिएका छौँ ।’

नारायण नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक लालबहादुर खड्काले गर्भवती महिलाहरूका लागि कोरोना महामारी बाट बच्न मास्क १० थान, साबुन दुई थान, नेल कटर एक थान, फलफूल, गेडागुडी, एक क्यारेट अण्डा, गर्भवती महिलाका लागि आइरन चक्की, जुकाको औषधि र घरेलु धोती वितरण गरेको बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतवार ०८:५०