सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन

देशभर खुल्यो म्यादी प्रहरीको भर्ना, बाँकेमा १६६० जना लिइँदै

म्यादी प्रहरी । फाइल तस्वीर ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलाइएको छ । आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका हुन् ।

देशभरका जिल्लामा म्यादी भर्नाका लागि कोटा अनुसार आवेदन आह्वान गरिएको छ । म्यादी प्रहरीमा भर्ना हुन इच्छुकका लागि आजदेखि ११ गतेसम्म आवेदन दिन सकिने समयसीमा तोकिएको छ ।

१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन दिन सक्नेछन् । म्यादी भर्नाका लागि बाँकेमा १ हजार ६६० कोटा तोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले तोकिएको कोटा र मापदण्डका आधारमा म्यादी प्रहरी भर्ना लिइने जानकारी दिए । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्नेछ ।

४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ । म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन् ।

४० दिने अवधिका लागि भर्ना खुल्ला गरिएको म्यादी प्रहरीमा आवेदन दिन इच्छुकले सबै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।

म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतवार ०८:४४